
काठमाडौं । नेपाल एयरलाइन्सका दुई दर्जनभन्दा बढी पाइलटले सामुहिक राजिनामा दिएका छन्। तीन महिनाको समयसीमा दिंदै उनीहरुले व्यवस्थापन समक्ष राजिनामा बुझाएका हुन्।
व्यवस्थापनका कारण निगम धरासयी भएको तथा विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरुले राजीनामा बुझाएका हुन्।
एयरबस ३३० वाइडबडी जहाज उडाउने १५ मध्ये १३ जना र एयरबस ३२० जहाज उडाउने २५ मध्ये १२ जनाले निगमका निमित्त कार्यकारी अध्यक्ष गणेशबहादुर चन्दलाई सामूहिक राजीनामा बुझाएका हुन्। राजीनामा दिने सबै स्थायी पाइलट हुन्। राजीनामा बुझाउनेमध्ये १५ जना क्याप्टेन हुन् भने १० जना को–पाइलट हुन्। यसमा थप ८ जना जतिले राजिनामा बुझाउने तयारी गरिरहेका छन्।
नेपाल एयरलाइन्समा पाइलटहरुले लामो समयदेखि असन्तुष्टि राख्दै आएका थिए। नेपाल वायुसेवा निगमको ६० वर्षे इतिहासमै यस्तो पहिलो घटना हो ।

