भरतपुर अस्पतालमा कोरोना भाइरसको शङ्कास्पद बिरामीका लागि आइसोलेसन वार्ड खडा

Share:

चितवन – छिमेकी राष्ट्र चीनमा कोरोना भाइरसको महामारी फैलिएपछि यहाँको भरतपुर अस्पतालले उच्च सतर्कता अपनाएको छ । अस्पतालले शङ्कास्पद बिरामीको उपचारका लागि छुट्टै कक्ष खडा गरी उपचार शुरु गरेको छ ।

उपत्यका बाहिर धेरै बिरामीको चाप हुने भरतपुर अस्पतालमा पाँच श्ययाको छुट्टै कक्ष खडा गरी सेवा शुरु गरिएको हो । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर श्रीराम तिवारीका अनुसार शङ्कास्पद बिरामीलाई अलग्गै परीक्षण गरी उपचार गर्नको लागि आइसोलेसन वार्ड खडा गरी काम शुरु गरिएको छ ।

अस्पतालको ए ब्लकमा कक्ष खडा गरिएको छ । अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सक डा प्रमोद पौडेल र कल्याण सापकोटालाई सो कक्षको जिम्मेवारी दिइएको उनले जानकारी दिए । दुवै फिजिसियन हुन् । परीक्षणबाट कुनै बिरामीमा कोरोना भाइरसको सङ्क्रमणको आशङ्का लागेमा नमूना सङ्कलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाउने व्यवस्था मिलाइएको छ ।

बिरामी र सर्वसाधारणको लागि कोरोना भाइरससम्बन्धी चेतनामूलक सामग्री बनाई प्रकाशन एवं प्रसारणको प्रक्रिया शुरु गरिएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताए ।

नियमितरुपमा साबुनपानीले हात धुने, फ्लुजस्तो लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिने, वन्यजन्तु तथा घरपालुवा पशुपक्षीसँगको असुरक्षित सम्पर्कबाट टाढा रहनेजस्ता काम गरेमा कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सकिनेछ ।

कमेन्ट गर्नुहोस्
Share: