पोखरामा पर्वतीय महोत्सव बुधबारदेखि !

Share:

पोखरा, मङ्शिर २२ / अन्तर्राष्ट्रिय वातावरणविद्, पर्यटन क्षेत्रका विज्ञलगायतको सहभागितामा पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाइने भएको छ। पोखराको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा बुधबारदेखि हुने तीनदिने महोत्सवमा अन्तर्राष्ट्रिय वातावरणविद्, पर्यटन क्षेत्रका विज्ञ, भूगोलविद्को सहभागिता रहने नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाले जानकारी दिए। 

महोत्सवमा विशिष्ट पर्वतारोहीको उपस्थितिमा चोयु हिमालको हीरक महोत्सव पनि मनाइनेछ। महोत्सवमा चोयु हिमाल चढेका नेपाली तथा विदेशी गरी ४० भन्दा बढी पर्वतारोहीको सहभागीता रहनेछ। महोत्सवमा हिन्दकुश हिमालय क्षेत्रका सबै देशको सहभागिता रहने अध्यक्ष शेर्पाले बताए।

pokhara_825529528

चीनको माउन्टेन एसोसिएसनका प्रतिनिधि, भारत, पाकिस्तानलगायतका देशका प्रतिनिधिको सहभागितामा उच्च हिमालय क्षेत्रको वातावरण संरक्षणका विषयमा बैठक र गोष्ठी पनि गरिने उनले बताए। महोत्सवमा अन्तर्राष्ट्रिय पर्वतीय महासंघ, अन्तर्राष्ट्रिय जोग्राफर फेडेरेसनका प्रतिनिधिको पनि सहभागिता रहने शेर्पाले जानकारी दिए। 

महोत्सवमा पोखरावरपरको क्षेत्रका बासिन्दाको जीविकोपार्जनलाई सघाउने विभिन्न कार्यक्रम पनि गरिने संघका सल्लाहाकार डा. गणेश गुरुङले बताए। स्थानीय बासिन्दाको आयआर्जन बढाउन सहयोगी हुने प्रविधि, ज्ञानका विषयमा छलफल हुने उनले सुनाए।

महोत्सवमा पर्वतीय गतिविधिबारे जानकारी दिने विभिन्न स्टल राखिनेछ। जलकुम्भी झारबाट ब्रिकेट बनाउने तरिका पनि सिकाइनेछ। माउन्टेन फुड, मौलिक खेल, सगरमाथालगायत विभिन्न हिमालका आरोहीसँग प्रत्यक्ष अन्तरक्रिया, वृत्तचित्र प्रदर्शनी पनि गरिने भएको छ। महोत्सव नेपाल र विशेष गरी पोखरालाई अन्तर्राष्ट्रिय रूपमा चिनाउन सहयोगी हुने पनि गुरुङले बताए। अन्तर्राष्ट्रिय विज्ञ, सञ्चारकर्मीसमेतको सहभागिता हुने भएकोले पर्यटन प्रवद्र्धनका यसले महत्त्वपूर्ण भूमिका खेल्ने उनको विश्लेषण छ।

महोत्सवमा पर्वतीय गतिविधिबारे जानकारी दिने विभिन्न स्टल राखिनेछ। जलकुम्भी झारबाट ब्रिकेट बनाउने तरिका पनि सिकाइनेछ। माउन्टेन फुड, मौलिक खेल, सगरमाथालगायत विभिन्न हिमालका आरोहीसँग प्रत्यक्ष अन्तरक्रिया, वृत्तचित्र प्रदर्शनी पनि गरिने भएको छ।

महोत्सवमा नेपालमा रहेका आठ हजार मिटरभन्दा अग्ला थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल गरिने संघका अध्यक्ष शेर्पाले बताए। नेपालमा आठ हजार मिटरभन्दा उच्च १४ हिमाल भए पनि अन्तर्राष्ट्रिय रूपमा आठ हिमाललाई मात्र मान्यता दिएको शेर्पाको भनाइ छ।

महोत्सवमा सहभागी हुन आउने अन्तर्राष्ट्रिय पर्वतीय महासंघ र अन्तर्राष्ट्रिय जोग्राफर फेडेरेसनका प्रतिनिधिसँग आठ हजार मिटरभन्दा उच्च थप ६ वटा हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिन पहल गरिने उनले जानकारी दिए। महोत्सवको तयारी अन्तिम चरणमा पुगेको नेपाल पर्वातरोहण संघ पोखरा च्याप्टरका अध्यक्ष जीवनराज सापकोटाले बताए।

Annapurna Post

कमेन्ट गर्नुहोस्
Share: