
२४ मंसिर, लेखनाथ । “महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि” भन्ने नाराका साथ लेखनाथको भण्डारढिकमा जारी एघारौं लेखनाथको सातौ दिन १ करोड २५ लाख रुपैयाको कारोबार भएको छ । महोत्सवमा बुधबार मात्रै २० हजार दर्शले अवलोकन गरेका छन् । महोत्सवमा प्राय सवै स्टलहरुमा राम्रो कारोबार भएको आयोजक लेखनाथ उद्योग बाणिज्य संघले जनाएको छ । महोत्सवमा कास्कीको कालिका, माझठाना, देउराली, थुम्की, हंसपुर, रुपाकोट, सिद्ध तथा तनहुँका थप्रेक गाविससम्मका दर्शकहरु आएका छन् ।
महोत्सवमा किनमेल र मनोरन्जनका लागि दर्शकहरु आउनेगरेको संघका कोषाध्यक्ष छत्रधर आत्रेयले जानकारी दिए । दिउँसो विभिन्न बस्तुहरुको खरिद र कलाकारको प्रस्तुती हेर्न युवापुस्ता भन्दा माथिको उमेर समूहका दर्शक आउने गरेका आत्रेयले बताए । आयोजकले साँझ पख पप कन्र्सटको व्यवस्था गरेका कारण युवापुस्ताको भिड लाग्ने गरेको छ । त्यसमा पनि घरेलु दर्शकले बढी साथ दिने गरेका छन् ।
बुधबार पनि चर्चित लोक गायक बद्री पगेनी र कृष्णा परियारले लोकगितका पारखीलाई मनोरन्जन दिलाएका थिए । साँझ ढल्किएसँगै झुल्किएकी माण्डवी त्रिपाठीले युवापुस्तालाई आर्कषित गरेकी थिईन । माण्डवी पछि आएका पप गायक धर्मेन्द सेवानले भने दर्शकलाई झण्डै डेढ घण्टा आफुसँगै नचाएका थिए । सेवानले पप तथा रक स्टाइलका गित संगित प्रस्तुत गर्दा दर्शकले उनलाई समर्थनमा चर्को हुटिङ गरेका थिए ।
दिउँसो हाँस्य कलाकार दिपक थापा, स्थानीय कलाकार चोलेन्द्र पौडेल, जीवन दाहाल, रामहरि ढुंगानाले समेत आफ्नो सांगितीक प्रस्तुती दिएका थिए ।
यसैगरी महोत्सवको अर्को आकर्षण गायन विधाको गण्डकी ताराका १० प्रतियोगिले समेत विहिबार टप ८ का लागि प्रतिस्पर्धा गरेका थिए ।
महोत्सवमा कृषि, खाना तथा रेष्टुरेण्ट, सूचना प्रविधि, हस्तकला, दैनिक उपभोग्य सामाग्री, फेन्सी तथा कस्मेटिक र श्रृंगारका सामाग्री, विद्युतिय उपकरण, फर्निचर, भान्सामा प्रयोग हुने सामाग्रीहरुका स्टल राखिएको छ ।
यसैगरी विभिन्न वित्तिय संस्था, शिक्षा, स्वास्थ्य, अटो मोवाइलका स्टलसमेत गरी ३ सय भन्दा बढी स्टलहरु राखिएका छन् ।

