
रेम बिक
पोखरा, ८ फागुन । रोयल को–अपरेटिभ सोसाईटी लिमिटेड स्याङ्जालाई ठगी मुद्दामा उजुरी परेको छ । ठेकेदारलाई काम गराईसकेपछि आवश्यक भुक्तानी दिन आनकानी गरेपछि सहकारीलाई यस्तो मुद्दा परेको हो । पोखरामा मूख्य कार्यालय रहेको पर्फेक्ट कन्स्ट्रक्शन एण्ड इन्जिनियरिङ कम्पनीले सहकारी विरुद्ध जिल्ला प्रशासन कार्यालय, स्याङ्जामा मुद्दा दर्ता गरेको हो ।
उजुरीकर्ता कम्पनीले रोयल सहकारीको स्याङ्जास्थित नयाँ कार्यालयको ‘इन्टेरियर डिजाइन’को जिम्मा पाएर काम सकिसकेको जानकारी गराएको छ । काम सकेर आवश्यक बिल भरपाईका लागि भ्याट बिल सहितको निवेदन दिएको लामो समय बितिसक्दा पनि कमिशनको लोभमा सहकारीका केही व्यक्तिहरुले नियोजित रुपमा आफूलाई दुख दिने काम गरेको कम्पनीको आरोप छ ।
सहकारी र कम्पनीबीच २०७५ माघ १४ गते इन्टेरियर डिजाइनका लागि काम गर्ने सम्झौता भएको थियो । यद्यपि काम गरिरहँदा केही सामाग्रीहरु थप गर्नुपर्ने र तोकिएको क्षेत्रफल भन्दा बढि क्षेत्रमा काम गर्नुपर्ने भएपछि ठेकेदार कम्पनीले रकम थप गर्नुपर्ने मागसहित निवेदन समेत दिएको थियो । र, सहकारी संचालक समितिमा रहेका पदाधिकारीहरुले काम गर्दै जाने अनि थपिएको कामको भुक्तानी गर्ने बिषयमा सहमती पनि जनाएका थिए ।
‘सबै कुरा सहमतीमै भैराखेको अवस्थामा हामीले थपिएको कामका लागि थप्नुपर्ने रकमसहितको निवेदन सहकारीलाई बुझायौँ । र, सहकारीले पनि कामलाई निरन्तरता दिन र कुनै किसिमको समस्या नआउने बताएपछि हामीले सोही अनुरुप काम सकायौँ ।’ पर्फेक्ट कन्स्ट्रक्शन एण्ड इन्जिनियरिङका संचालक राजेन्द्र न्यौपानेले भने–‘तर जब काम सकिसकेपछि बिल भुक्तानीका लागि हामीले ताकेका ग¥यौँ, तब सहकारीका केही व्यक्तिहरुले नियतवश यो वा त्यो भन्दै भुक्तानी रोक्ने काम गरेपछि हामीले बाध्य भएर प्रशासन गुहार्नुपरेको हो ।’
कम्पनीले स्याङ्जा प्रशासन कार्यालयमा दिएको उजुरीपत्रमा रोयल को–अपरेटिभ सोसाइटीका सचिव केशवराज लम्साल, संचालक समितिका सदस्य कुलानन्द लम्साल, प्रकाश डोटेलले विशेषरुपमा अन्यायपुर्ण तरिकाले व्यवहार गरेको जनाएको छ । उजुरीमा उनीहरुले पैसा माग्न आएको खण्डमा जे सुकै हुन सक्ने धम्की समेत दिएको कम्पनीले उल्लेख गरेको छ । साथै उनीहरुले आफूसँग कमिशन दिए मात्र काम हुने बताएको समेत उजुरीकर्ता कम्पनीका संचालक राजेन्द्र न्यौपानेले बताएका छन् ।
पर्फेक्ट कन्स्ट्रक्शनले कामको लागि सहकारीले खुलाएको बोलपत्र अनुसार ठेक्का प्रकृयामा गएर सो काम आफ्नो हातमा लिएको हो । र, ठेक्का नियमअनुसार काम सकिएको १ महिनाभित्र ठेकेदारले आवश्यक भुक्तानी पाईसक्नुपर्ने नियम छ ।
उता रोयल को–अपरेटिभ सोसाइटी लिमिटेडले भने ठेकेदार कम्पनीले गुणस्तरीय काम नगरेको कारणले आवश्यक ‘इन्जिनियरिङ भेरिफिकेशन’ नगर्दासम्मका लागि भुक्तानी रोकिएको बताएको छ । ‘ठेकेदार कम्पनीले हालसम्म ४० लाख बराबरको भुक्तानी लगिसकेको छ । तथापी सहकारी सदस्यहरुकै चित्त नबुझ्ने गरि गुणस्तरहिन काम गरेको देखिएपछि हामीले विज्ञ समूह ल्याएर आवश्यक भेरिफिकेशन गरेर उसलाई भुक्तानी गर्ने भनिरहेकै छौँ । ठगी कै उजुरी त किन हाल्नुभयो त्यो उहाँले नै जान्ने कुरा हो ।’ सहकारी संचालक समितिका सचिव समेत रहेका केशवराज लम्सालले भने ।
सहकारीका अनुसार कम्पनीले भनेअनुरुप काम नगरेकाले नापजाँचका लागि पश्चिमाञ्चल इन्जिनियरिङ कलेजबाट विज्ञ समूह बोलाएर पुनः नापजाँच गरेपछि मात्रै सो भुक्तानी गरिने बताएको छ ।
यता ठेकेदार कम्पनी पर्फेक्ट कन्स्ट्रक्शन एण्ड इन्जिनियरिङले भने आफूहरुले कामको गुणस्तरमा कुनै समस्या नपारेको दाबी गरेको छ । ‘दशौँ पटकसम्म फरक फरक इन्जिनियर ल्याएर भ्यालुएशन गर्दै यो वा त्यो वहानामा भुक्तानी रोक्ने ध्याउन्नमा सहकारीका केही नियोजित मनशाय भएका व्यक्तिहरु लागेकै हुन् ।’ कम्पनीका संचालक न्यौपानेले भने ।
कम्पनीको दाबी अनुसार अब उसले भुक्तानीस्वरुप सहकारीबाट १२ लाख ६५ हजार ८ सय ४ रुपैयाँ पाउन बाँकी छ । जुन कम्पनीले दाखिल गरेको धरौटी रकम आयकर समेत कटाएपछिको रकम हो ।
२०७६ असोज १३ गते काम सकेपछि कम्पनीले अन्तिम नापजाँच गराएको थियो । सहकारीले नियुक्त गरेकै इन्जिनियरको रहोवरमा गरिएको नापजाँचपछि पाउनुपर्ने रकम कबोल गर्दै कम्पनीले बिल सहकारीलाई बुझाएको न्यौपानेले बताए । ‘एकचोटी नापजाँच गरेपछि हुने काम अझै कति समयसम्म नापजाँच गर्दै जाने हो ? यो त सरासर मलाई दुख दिने काम भएको छ ।’ न्यौपानेले भने–‘म साँच्चै अन्यायमा परेको छु ।’
रोयल को–अपरेटिभ सोसाइटी लिमिटेडकै संस्थापकहरु नै मुक्तिनाथ विकास बैंक स्थापना गरेका हुन् ।

