
पोखरा । पोखरामा आइतबारदेखि ११ औं संस्करणको प्रदेशस्तरीय क्यान इन्फोटेक–२०२० शुरू हँदैछ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्कीको आयोजनामा हुन लागेको मेलामा सूचना प्रविधिको क्षेत्रमा भित्रिरहेका नयाँ प्रविधि बारे जानकारी गराइने छ ।
सूचना तथा सञ्चार प्रविधिका नौला प्रविधि र उपकरणको अवलोकन तथा खरिद गर्न सकिनेछ । मेलामा नयाँ–नयाँ सफ्टवेयर, सुरक्षा उपकरण र नेपाली प्राविधिकले विकास गरेका प्रविधि प्रदर्शनीमा राखिने क्यान कास्कीका अध्यक्ष रूक्मागत भण्डारीले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
मेला अवधिभर शिक्षित बेरोजगारले आइसिटी क्षेत्रमा रोजगारीको फर्म भर्न पाउने छन् । यसका लागि ग्राफिक्स डिजाइन, हेल्प डेस्क, हार्डवयर तथा नेटवर्क सम्बन्धि आवश्यक ज्ञान भएको हुनुपर्ने छ । पोखरामा प्राविधिक कर्मचारीहरूको अभाव रहेकाले यो कार्यक्रम ल्याइएको आयोजकले जनाएको छ ।
यसबाहेक मेलामा प्रदेशस्तरीय आइटी क्विज प्रतियोगिता, टाइपिङ प्रतियोगिता, आइ.सी.टी वक्त प्रतियोगिता, रोबर्ट प्रतियोगितालगायतका कार्यक्रम हुने क्यान कास्कीका सचिव सेवक क्षितिजले बताए । यो मेला पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने छ ।
करिब एक सय वटा स्टल रहने मेलाको ५० हजार दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको छ । ५ दिने मेलाबाट ३५ लाख आम्दानी र ३० लाख खर्च हुने अनुमान गरिएको अध्यक्ष भण्डारीले बताए । मेलाबाट बचत भएको रकम सूचना प्रविधिको विकासमा खर्च गरिने आयोजकले जनाएको छ ।
