रोयल को–अपरेटिभ स्याङ्जाले भन्यो–‘कमसल काम गरेकोले भुक्तानी रोक्का’

Share:

रेम बिक
पोखरा, ११ फागुन । रोयल को–अपरेटिभ सोसाईटी लिमिटेड स्याङ्जाले कमसल काम गरेको कारणले ठेकेदारको भुक्तानी रोक्का भएको जनाएको छ ।

यसअघि फागुन ८ गते बिगखबर डटकमले स्याङ्जाको रोयल को–अपरेटिभ बिरुद्ध ठेकेदार कम्पनी पर्फेक्ट कन्स्ट्रक्शनले ठगी मुद्दामा जिल्ला प्रशासन कार्यालय स्याङ्जामा मुद्दा दर्ता गरेको विषयमा समाचार प्रकाशित गरेको थियो । सोही समाचार प्रकाशनमा आएपछि सहकारीले ठेकेदारले लगाएका सम्पूर्ण आरोपहरु ‘गलत र कपोल्कल्पित’ भएको बताएको छ ।

साथै उसले प्रकाशित समाचारप्रति आफ्नो आपत्ती भएको जनाएको छ । रोयल को–अपरेटिभ सोसाइटी लिमिटेड स्याङ्जाका अध्यक्ष भरतप्रसाद लम्सालद्वारा जारी विज्ञप्तीमा सहकारी विरुद्ध अफवाह फैलाउँदै बद्नाम गराउन खोजे पर्फेक्ट कन्स्ट्रक्शनका संचालकमाथि कानुन बमोजिम कारबाही प्रकृया अगाडि बढाउने चेतावनी समेत दिएको छ ।

साथै सहकारीले बरु उल्टै निर्माण कम्पनी पर्फेक्ट कन्स्ट्रक्शनका संचालकले आफ्ना कर्मचारीहरुलाई धम्काउँदै आएको आरोप लगाएको छ । यसअघि निर्माण कम्पनीले स्याङ्जा प्रशासन कार्यालयमा दर्ता गराएको मुद्दामा सहकारीका सचिव केशवराज लम्साल, संचालक समितिका सदस्यद्वय कुलानन्द लम्साल र प्रकाश डोटेलले विशेषरुपमा आफूहरुलाई ‘धम्काउने गरेको’ र ‘कमिशन मागेको’ आरोप लगाएको थियो ।

यद्यपि सहकारीले जारी गरेको प्रेस विज्ञप्तीमा सो आरोप निकै कपोल्कल्पित भएको बताईएको छ । ‘पर्फेक्ट कन्स्ट्रक्शन एण्ड इन्जिनियरिङ प्रालिले सम्झौता विपरित मापदण्ड नपुगेका र गुणस्तर रहित सामान प्रयोग गरि तोकिएको समयसिमा भित्र काम नसकेको हो ।’ बिज्ञप्तीमा भनिएको छ–‘त्यसपछि कम्पनीले आन्तरिक रुपमा प्राविधिक मुल्याङ्कन गर्ने चरणमा रहँदारहँदै गलत मनसायले ठेकेदार कम्पनीले सहकारी विरुद्ध काम गरेको छ ।’

यता निर्माण कम्पनीले भने सम्झौताअनुरुप काम भएको दाबी गर्दै आएको छ । उसले सहकारीका केही गलत मनशाय बोकेका पदाधिकारी र सदस्यहरुका कारण आफू अन्यायमा परेको बताउँदै आएको छ । ‘सहकारीले नै नियुक्त गरेको इन्जिनियरले भ्यालुयशन गरि भुक्तानी गर्नुपर्ने रकम निकालेपछि सोही अनुरुपमा बिल पेश गर्दा पनि मैले दुख पाएँ ।’ पर्फेक्ट कन्स्ट्रक्शनका संचालक राजेन्द्र न्यौपानेले भने–‘सँधै उनीहरुले भनेजसरी १२÷१५ पटकसम्म भ्यालुएशन गराउँदै बस्न त म सक्दिन नी । यो त सरासर मलाई दुख दिने काम मात्रै भैरहेको छ ।’

त्यसो त सहकारीको इन्टेरियर डिजाइनको कामका लागि निर्माण कम्पनीलाई यसअघि नै ४० लाख रुपैयाँ भुक्तानी भैसकेको छ । कम्पनीले भने १२ लाख ६५ हजार ८ सय ४ रुपैयाँ भुक्तानी आउन बाँकी भएको दाबी गर्दै प्रशासन गुहारेको छ । सहकारीले भने कमसल काम गरेको आरोप लगाउँदै सो अनुरुपको भुक्तानी नहुने बताएको छ । ‘न्यौपानेले सहकारीलाई बुझाएको रकम र हामीले प्राविधिक झिकाई मुल्याङ्कन गर्दा कायम हुने मुल्यबीच फरक पर्न सक्ने देखेपछि विभिन्न आरोप लगाउने र धम्काउने गरेका छन् । यद्यपि हामी प्रचलित कानुन अनुसार भुक्तानी समयसिमा भित्रै गर्ने कुरामा ढुक्क बनाउन चाहन्छौँ ।’ सहकारीले भनेको छ ।

यो पनि-

‘रोयल को–अपरेटिभ’ स्याङ्जा बिरुद्ध ठगी मुद्दा !

कमेन्ट गर्नुहोस्
Share: