
पोखरा । १८ औँ संस्करणको आहा ! रारा गोल्डकपमा घरेलुु टोली सहारा क्लबले क्वाटरफाइनलमा आफ्नो स्थान बनाएको छ ।
बिहिबार पोखरा रङ्गशालामा भएको उद्घाटन खेलमा बिग्रेड व्याइजमाथि ३–२ को जित निकाल्दै सहाराले क्वाटरफाइनलमा आफ्नो स्थान बनाएको हो ।
निर्धारित समयको खेलमा ब्रिगेड व्याइज क्लबले राजेश परियारको गोलमा अग्रता लिएको थियो । पहिलो हाफमै जीवन रायमाझीले दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिएका थिए । रोमाञ्चक बनेको खेलमा राजेश परियारले खेलको ५७ आँँै मिनेटमा गोल गर्दै घरेलु दर्शकलाई निराश गराएका थिए । तर उक्त अग्रता धेरैबेर भने टिक्न सकेन । राजेशले गोल गरेको ४ मिनेट बित्न नपाउँदै ६१ औँ मिनेटमा सहाराका लागि क्यामरुनका खेलाडी सिवीले गोल गर्दै बराबरी दिलाए । कमल थापाको फ्रि किक बलमा सिवीले उत्कृष्ट हेडर गोल गरेका थिए ।
गोल गर्ने क्रम यतिमै टुङ्गिएन । सहाराले बराबरी फर्काएको १ मिनेटमै ब्रिगेडले अग्रता हासिल ग¥यो । ब्रिगेडका लागि ६२ औँ मिनेटमा विजय गुरुङले गोल गर्दै आफ्नो टोलीलाई २–१ को अग्रता दिलाए । तर यस अग्रता पनि धेरै समय भने टिक्न सकेन । खेलको ७८ औँ मिनेटमा त्रिदेव गुरुङले गोल गर्दै सहारालाई बराबरीमा पु¥याए ।
९० मिनेटको निर्धारित खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको दोस्रो हाफको १२ औँ मिनेटमा गोल गर्दै त्रिदेव गुरुङले गोल गर्दै सहारालाई जित दिलाएका हुन् ।
अब अर्को खेलमा शुक्रबार एपिएफ क्लबले झापा ११ को सामना गर्नेछ । प्रतियोगितामा आयोजक सहारासँगै ब्रिगेड, नेपाल पुलिस, गान्तोक सिटी भारत, थ्री स्टार, मनाङ मस्र्याङ्दी, नेपाल एपीएफ क्लब, झापा ११, संकटा क्लब र त्रिभुवन आर्मीले सहभागीता जनाएका छन् ।
प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
