हुलास अप हिलमा नेपाल पुलिसका भूमिराज च्याम्पियन

Share:
धरान, मंसिर २७  / राष्ट्रिय म्याराथुन धावक नेपाल पुलिसका भूमिराज राई प्रथम हुलास अप हिल हाफ म्याराथुन प्रतियोगिता च्याम्पियन बनेका छन्।  असोज ५ मा सम्पन्न आठौं रियल म्याराथुनका विजेतासमेत रहेका राईले निर्धारित २१ दशमलव एकसय किलोमिटर दुरी १ घण्टा २३ मिनेटमा पूरा गर्दै च्याम्पियन बने।
hulas up
च्याम्पियन राईले नगद ३० हजारसहित मेडल, ट्रफी र प्रमाण पत्र पाए। ‘प्रतियोगिता जितेकोमा खुसी छु’, च्याम्पियन राईले भने। आफूले विश्वासका साथ जित्ने लक्ष्यका साथ आएको र जित्न सफल भएको बताए ।
एकघण्टा २४ मिनेटमा निर्धारित दुरी पार गरेका त्रिभुवन आर्मीका राजन खत्री दोस्रो हुँदै नगद २५ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे।
एकघण्टा २५ मिनेटमा दुरी तय गर्दै आर्मीकै ज्ञानबहादुर भट्टराई २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रका साथ तेस्रो बने।
म्याराथुनमा उत्कृष्ट दशमा पर्न सफल धावकहरुलाई मेडल र प्रमाण पत्रले पुरस्कृत गरियो। चौथोमा होमलाल श्रेष्ठ, पाँचौंमा देवबहादुर सुनुवार, छैठौंमा खगेन्द्रबहादुर भाट, सातौंमा खेम लिम्बू, आठौंमा यांगदेव राई, नवौंमा कुलबहादुर सुवेदी र दशौंमा विकास लिंगसिन हुँदै मेडल र प्रमाण पत्र प्राप्त गरे। धावकहरुलाई टिसर्टकोसमेत व्यवस्था गरिएको थियो ।
पुरस्कृतहरुलाई युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले पुरस्कार वितरण गरे। धरानको विश्वकर्मा मन्दिर तलबाट सुरु भएको प्रतियोगिता भेडेटारमा पुगेर टुंगिएको थियो। मोरग–सुनसरी एथलेटिक्स संघको आयोजनामा सम्पन्न प्रतियोगितामा ८० बढी धावकहरु सहभागी थिए। सहभागी धावकहरुलाई शुभकामना दिँदै युवा तथा खेलकुदमन्त्री पौडेलले हरेक खेलाडीहरुले जित्ने लक्ष्यका साथ अघि बढ्न सुझाव दिए।
कार्यक्रममा सभाषद् एवं एथलेटिक्स संघका केन्द्रीय अध्यक्ष राजिवबिक्रम साह, पूर्व अन्तर्राष्ट्रिय एथलेटिक्स खेलाडी राजेशमान श्रेष्ठ, मोरग एथलेटिक्सका किशोर अमात्य, सुनसरी एथलेटिक्सका बिरेन्द्रलाल चौधरीलगायतको सहभागिता थियो। कार्यक्रमलाई धरान, इटहरी उपमहानगरपालिका, होटल एसोसिएसन भेडेटारलगायतले सहयोग गरेको थियो। म्याराथुनको उद्घाटन खेलकुदमन्त्री पौडेलले गरेका थिए।
कमेन्ट गर्नुहोस्
Share: