
पोखरा । आज मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर मनाइँदैछ । सन् १९११ देखि मनाउन थालिएको यो दिवस ११० वर्ष पुगेको छ।
नेपालमा यस पटक “समानताको पुस्ता : अन्त्य गरौ, हिंसा, विभेद र असमानता” भन्ने नारा तय गरिएको छ । तर नेपाल सरकारले यस वर्षको ‘अन्तरराष्ट्रिय श्रमिक महिला दिवस’ को औपचारिक कार्यक्रम स्थगित गरेको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले शुक्रवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी दिवसको अवसरमा आइतवार (आज) गर्ने औपचारिक कार्यक्रम स्थगित गरिएको बारे जानकारी दिएको हो।
‘हाल विश्वमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड–१९)का कारण जनस्वास्थ्यमा प्रतिकूलअसर पर्ने सम्भावनालाई विचार गरी बृहत् भेला, सभा, सम्मेलन, समारोह आदि कार्यक्रम नगर्ने’ मन्त्री परिषद वैठकको निर्णयका आधारमा मन्त्रालयले सबै कार्यक्रम स्थगित गरेको जानकारी दिएको छ।
मन्त्रालयले आइतवार (आज) काठमाडौंको कमलादी स्थित प्रज्ञा भवनमा औपचारिक कार्यक्रमको तयारी गरेको थियो। यद्यपि मन्त्री पार्वत गुरुङले दिवसका बारेमा शुभकामना भने व्यक्त गरेका छन्। साथै दिवसका अवसरमा सरकारले आज सार्वजनिक विदा पनि दिएको छ ।
यसैबिच पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र उपप्रमुख मञ्जुदेवी गुरुङले महिला दिवसको शुभकामना व्यक्त गरेका छन् । प्रमुख जिसी र उपप्रमुख गुरुङले शनिबार साँझ संयूक्त शुभकामना सन्देश जारी गर्दै ११० औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना ब्यक्त गदै, नेपालको संविधानले नेपाली महिलाहरुको अधिकारलाई सुनिश्चित गरेको उल्लेख गरिएको छ ।
१९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ यसलाई अन्तर्रा्ष्ट्रिय मा्यता प्रदान गरिएको थियो। संयुक्त राज्य अमेरिकाको सोशलिस्ट पार्टीले २८ फेब्रुवरी १९०९ मा सर्वप्रथम नारी दिवसको आयोजना गरेको थियो। सोशलिस्ट पार्टीले सन् १९०८ को अन्तर्राष्ट्रिय महिला कपडा कामदारको आन्दोलनको स्मरणमा २८ फेब्रुवरी १९०९ का दिन महिला दिवस मनायो। यसपछि यो फेब्रुवरीको अन्तिम आइतबारको दिन मनाइन थालियो। १९१० मा सोशलिस्ट इन्टरनेशनलको कोपेनहेगनको सम्मेलनमा यसलाई अन्तर्राष्ट्रीय दिवसको मान्यता दियो १९१७ मा रसियाका महिलाहरूले, महिला दिवसमा गाँस र कपासको लागि हडतालमा जाने निर्णय गरे। यो हडताल पनि ऐतिहासिक थियो। जारले सत्ता छोडे, अन्तरिम सरकारले महिलाहरुलाई भोट दिने अधिकार दियो। अन्ततः ८ मार्च महिलालाई दिवसको रूपमा मनाइन थालिएको हो ।
