
पोखरा । १८ औँ संस्करणको आहा ! रारा गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दीले जितेको छ । पोखरा रङ्गशालामा शनिबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै मनाङले उपाधि जितेको हो ।
निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो । अतिरिक्त समयमा समेत दुवै टोलिले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटवाउटमा धकेलिएको थियो ।
पेनाल्टी सुटआउटमा मनाङका ४ खेलाडीले गोल गर्न सके भने पुलिसका ३ खेलाडीले गोल गरे । पेनाल्टीमा मनाङका गोलरक्षक अशोक बरालले पुलिसका तेज तामाङ र अजित भण्डारीको प्रहार बचाए ।
पुलिसका गोलरक्षक रोशन खड्काले निशान लिम्बुको प्रहार रोकेका थिए ।
१८ औँ संस्करणको उपाधि जितेसँगै मनाङले सर्वाधिक विजेता टोलीमा नेपाल पुलिस क्लबसँग बराबरी गरेको छ । मनाङ र पुलिसले समान ६–६ पटक उपाधि उचालेका छन् ।
मनाङले यसअघि आहा ! रारा गोल्डकपको दोस्रो, तेस्रो, दशौँ, चौधौँ र पन्ध्रँौ संस्करणमा प्रथम स्थान हात पारेको थियो ।
मनाङले सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–२ ले पराजित गर्दै फाइनल यात्रा गरेको हो । क्वाटरफाइनलमा झापा–११ लाई मनाङले १–० पाखा लगाएको थियो ।
यता नेपाल पुलिस क्लबले सेमिफाइनलमा थ्री स्टार क्लबलाई पराजित गर्दै फाइनलमा आफ्नो स्थान पक्का गरेको थियो । पुलिसले सहारा क्लब पोखरालाई क्वाटरफाइनलमा टाइ–ब्रेकरमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो ।
उपाधि सँगै मनाङले १० लाख १ हजा नगद पुरस्कार प्राप्त गरेको छ । यस्तै उपविजेता बनेको पुलिसले ५ लाख १ हजामा चित्त बुझाएको छ ।
खेलमा म्यान अफ दि म्याचको अवार्ड मनाङका अशोक बरालले पाएका छन् ।
प्रतियोगितामा पुलिसका अजित भण्डारी सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले एप्रिलियाका स्कुटर हात पार्न सफल भएका छन् ।
प्रतियोगितामा उत्कृष्ट गोल रक्षकको पुरस्कार मनाङ मस्र्याङ्दीका अशोक बरालले जितेका छन् । प्रतियोगितामा मनाङका सुरज बि.क. उत्कृष्ट डिफेन्डर घोषित भएका छन् ।
यस्तै उत्कृष्ट मिडफिल्डिरको उपाधि मनाङकै नितिन थापा मगरले हात पारेका छन् । यस्तै अन्जन विष्ट उत्कृष्ट फरवार्ड घोषित भए ।
सर्वाधिक गोलकर्ताको पुरस्कार भने ३ खेलाडीले पाएका छन् । पुलिसका निर कुमार राई, भरत शाह र मनाङका अन्जन विष्टले समान २–२ गोल गरेका कारण ३ खेलाडी सर्वाधिक गोलकर्ता घोषित भएका हुन् ।
मनाङका प्रशिक्षक फुजा तोपे प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक पुरस्कारबाट सम्मानित भएका छन् । रुस्लान थ्री स्टार क्लबले फेयर प्ले अवार्ड जित्न सफल भएको छ ।
फागुन २२ देखि सञ्चालन भएको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो ।
तस्बिरः सुदर्शन रञ्जित
