
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण अहिलेसम्म विश्वभर ८२ हजार ८० जनाको मृत्यु भएको छ । यस्तै १४ लाख ३१ हजार ७ सय ६ जनामा सङ्क्रमण पुष्टि भएको छ भने तीन लाख २ हजार १५० जना निको भएका छन् । कोरोना भाइरस विश्वका दुई सय ९ देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिसकेको छ ।
अमेरिकामा हिजो एकै दिन १९ सय ५२ जनाको मृत्यु भएको छ। यो अमेरिकामा अहिले सम्मकै उच्च मृत्यु दर हो । यो सँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार ८ सय २३ पुगेको छ । यस्तै त्यहाँ हिजो मात्रै ३३ हजार भन्दा बढी नयाँ संक्रमित फेला परेका छन्। यो सँगै संक्रमितको संख्या चार लाख ३ सय २३ पुगेको छ ।
अमेरिकापछि स्पेनमा सबैभन्दा धेरै एक लाख ४१ हजार ९ सय ४२ जना सङ्क्रमित भएकोमा १४ हजार ४५ जनाको मृत्यु भएको छ । सङ्क्रमितमध्ये ४३ हजार दुई सय आठ जना उपचारपछि निको भएका छन् ।
इटलीमा एक लाख ३५ हजार पाँच सय ८६ जनामा सङ्क्रमण पुष्टि भएको छ । इटलीमा अहिलेसम्म सबैभन्दा धेरै १७ हजार एक सय २७ जनाको मृत्यु भएको छ । फ्रान्समा पनि एक लाख ९ हजार ६९ जना सङ्क्रमित भएकोमा १० हजार तीन सय २८ जनाको मृत्यु भएको छ ।
