आज गोरखा भूकम्पको पाँच वर्ष पूरा

646
0
Share:

काठमाडौं । गोरखा भूकम्पको पाँच वर्ष पूरा भएको छ। विसं २०७२ वैशाख १२ गते मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भई गएको ७.६ रेक्टर स्केलको भूकम्प गएको थियो । जसका कारण करिब नौ हजार मानिसको ज्यान गएको थियो भने करिब २२ हजार मानिस घाइते भएका थिए। आठ लाखभन्दा बढी निजी आवास भत्केका थिए। लाखौँ मानिस घरबाट खुला आकाशमुनि बस्न बाध्य भएका थिए।

भूकम्पले गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभे्रपलाञ्चोक, भक्तपुर, काठमाडौँ, ललितपुर र मकवानपुर गरी १४ जिल्लामा धेरै क्षति भएको थियो। यी जिल्लालाई सरकारले अति प्रभावित भनी परिभाषित गरेको छ। यीमध्ये पनि सिन्धुपाल्चोक सबैभन्दा बढी प्रभावित भएको थियो। भूकम्पले मृत्युवरण गरेकामध्ये आधाभन्दा बढी सिन्धुपाल्चोकका थिए। अन्य १८ जिल्लामा कम प्रभावितमा परेका थिए। भूकम्पबाट ३२ जिल्ला प्रभावित भएका थिए। भूकम्पले सात हजार ५५३ विद्यालय, ९२० सांस्कृतिक सम्पदा, एक हजार १९७ स्वास्थ्य संस्था, ४१५ सरकारी भवन, सुरक्षा निकायका १९४ संरचना, ७६२ किमी सडक संरचना र एक हजारभन्दा बढी खानेपानी संरचनामा क्षति पुगेको थियो।

भूकम्पपछिको पुनःनिर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना भएको छ। हालसम्म भूकम्पले क्षति गरेका झण्डै ८८ प्रतिशत घर पुनर्निर्माण भएको, लाभग्राही सूचीमा परेका आठ लाख २७ हजारमध्ये पाँच लाख घर बनेको, एक लाख ९० हजार घर बन्ने क्रममा रहेको र बाँकी घर पनि यसै आर्थिक वर्षभित्रमा बनिसक्ने दावी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको छ ।

हाल कोभिड १९ अर्थात् कोरोना भाइरसको महामारीको प्रभावका कारण एक महिनादेखि बन्दाबन्दी जारी रहेकाले पुनःनिर्माणमा असर परेको जनाइएको छ।

कमेन्ट गर्नुहोस्
Share: