
काठमाडौँ । ताप्लेजुङ सदरमुकाम फुङलिङमा शुक्रबार राति भएको आगलागीबाट सात करोड ६५ लाख बढीको क्षति भएको पाइएको छ । प्रारम्भिक विवरणअनुसार सात करोड ६५ लाख ७२ हजार ७०० रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ । सोमध्ये व्यत्तिगत सात करोड ४३ लाख २५ हजार र संस्थागततर्फ २२ लाख ४७ हजार ७०० रुपैयाँको क्षति भएको पाइएको प्रहरीले जनाएको छ । आगलागीबाट सातवटा घर पूर्ण रुपमा जलेको छ भने आगो फैलन नदिन आगो लाग्दै गरेको एउटा घर भत्काइएको छ। अन्य केही घरहरुमा आंशिक क्षति भएको छ ।
आठ घरमा डेरा, पसल गरी बस्ने २९ परिवार विस्थापित भएका छन् । आगलागीले आठओटा संस्थागत कार्यालयमा क्षति पुगेको बताइएको छ । राति करिब १० बजे पछि सरु भएको आगलागी शनिबार बिहानमात्र पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।
आगलागीप्रभावित परिवारलाई शनिबार फुङलिङ नगरपालिकाले तत्कालका लागि अत्यावश्यक पर्ने दाल, चामललगायतका खाद्यान्न वितरण गरेको छ । यस्तै ताप्लेजुङ बहुउद्देश्यीय सहकारी संस्था र न्यु कञ्चनजंघा सहकारी संस्थाले नगद सहयोग गरेका छन् । रेडक्रस जिल्ला शाखाले पाल, कम्बललगायतका सामग्री वितरण गरेको छ।
यो पनि पढ्नुहोस् :
ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा आगलागी, सात घर जलेर नष्ट
