संसदमा आज संविधान संशोधन विधेयक पेश गरिँदै

Share:

काठमाडौँ । सरकारले आज प्रतिनिधि सभाको बैठकमा संविधान संशोधनको विधेयक पेश गर्ने भएको छ । आज विहान ११ बजे बस्ने बैठकमा संशोधन विधेयक पेश गरिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्वाहाङफेले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ पेश गर्ने छिन्।

नेपालको नक्सामा उल्लेखित अन्तर्राष्ट्रिय सिमानासँग सम्बन्धित निशाना छाप परिवर्तन गर्न सरकारले संविधान संशोधन गर्न लागेको हो । उक्त प्रस्ताव सर्वसम्मत रुपमा पारित गराउन सरकारले सबै दलसँग आग्रह गर्दै आएको छ ।

यसअघि जेठ १४ गते नै संसदमा विधेयक प्रस्ताव गर्ने कार्यसूची सार्वजनिक गरेकोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कमिटी बैठकबाट पास गर्ने समय मागेपछि विधेयक पेश अन्तिम समयमा रोकिएको थियो।

२०७२ साल असोज ३ गते जारी भएको नेपालको संविधान दोस्रो पटक संशोधन गर्न लागिएको हो । यसअघि पहिलो संशोधन, २०७२ असोज १० गते नै गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: