
रञ्जन अधिकारी पोखरा, १० पुस । ‘कवि भूपि शेरचन महाकवि लक्ष्मीप्रसाद देवकोटा पछिकै सम्भवतः लोकप्रिय कवि हुन्’ – नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठ कवि भूपिलाई स्मरण गर्दै थिए ‘जसले हजारौं हजार कविहरुलाई कविता लेख्न प्रेरणा दिईरहेका छन्, दिईरहनेछन् । यस्ता ठूला कविको जसरी चर्चा परिचर्चा हुनुपर्ने हो तर भएको छैन ।’
पोखरामा कवि भूपि शेरचनको ७९ औं जन्मजयन्ती विशेष कवि गोष्ठी कार्यक्रम पछि बाहिरिँदै गरेका सरुभक्तले भने– ‘कविता वाङ्मयका शीर्ष व्यक्तित्व भूपिले सरल, सहज र कलात्मक भावधारामा गद्य कविताको परम्परा बसाल्नुभयो । उहाँले नेपाली कवितामा शैलीगत रुपमा धेरै प्रभाव पार्नुभयो ।’ यो नेपाली शिर उचाली जस्ता राष्ट्रभाव बोकेको गीत रचना गर्ने भूपि शेरचन गीतकार समेत भएकाले कुलपतिको हैसियतमा राष्ट्रिय स्तरमा भूपिलाई फैलाउने गतिविधिका लागि सक्दो सहयोग पनि गर्ने उनले जनाए ।
थकाली सेवा समिति, पोखराको आयोजनामा भएको कार्यक्रममा भूपी स्मृति सम्मान पुरस्कारबाट कवि मोमिला सम्मानित भईन् । थकाली सेवा समितिद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि कुलपति सरुभक्त श्रेष्ठले मोमिलालाई सम्मानपत्र र ५० हजार रुपैँया नगद सहित सम्मान गरेका हुन् । कार्यक्रममा सरुभक्तले भूपी शेरचन भूपि राष्ट्रिय कवि भएपनि उनको यथोचित सम्मान हुन नसकेको बताए । भूपी जयन्तीमा पोखरेली साहित्यकारहरुको कम उपस्थितीप्रति ईगिंत गर्दै सरुभक्तले आगामी वर्षदेखि भूपी जयन्तीलाई विशेष गृहकार्य गरेर भव्य बनाउनुपर्ने बताए । ‘यही कार्यक्रममा पनि मैले देखिरहेको छु, पोखरामा जति वाङ्मयिक संघसंस्थाहरु छन्, जति कवि लेखकहरु छन् । साह्रै थोरै मात्र देखिरहेको छु’ – उनले थपे – ‘यो उदासिनता हो या संवाद शुन्यता हो ? कि, थकाली सेवा समितिको कार्यक्रममा उत्साहीत बन्न नसक्नुभएको हो । विचारणीय छ ।’
उनले सम्मानित व्यक्तित्व मोमीलालाई बधाई दिँदै असहज परिस्थितीमा पनि नारी स्रष्टाको रुपमा अगाडि बढिरहेको महिला कविको रुपमा चित्रण गरे । उनले मोमिलालाई काव्यिक यात्रा अझै मजबुत बनाउँदै लैजानुपर्ने सुझाव दिए ।
पुरस्कार छनौट समितिका संयोजक समेत रहेका कवि एवं प्राज्ञ तीर्थ श्रेष्ठले कवि भूपि शेरचनकै उपस्थितिबाट पोखरा साहित्यिक जगतमा अग्रपंक्तिमा उभिन सफल भएको बताए । ‘पोखरासँग भूपिमका धेरै आयामहरु जोडिएका छन् । सम्भवतः भूपिले पोखरालाई आफ्नो कर्मभूमि नबनाएका भए नारायण गोपाल पेमलालाई अंगाल्दै पोखरा आउने थिएनन्‘ उनले थपे– ‘अम्बर गुरुङ दार्जिलिङबाट हाम्फाल्दै पोखरा आउने थिएनन् होला, भिमदर्शन रोक्काको उज्यालो भूपिको अनुपस्थितिमा पोखराले पाउने थिएन होला ।’ भूपिको उपस्थितिको कारणले पोखराले के के पायो स्मरणीय कुरा भएपनि आज विर्सिएको उनको गुनासो थियो । उनले पोखराको गण्डकी बोर्डिङ स्कूल स्थापनाका महत्वपूर्ण व्यक्ति भूपि शेरचन पनि हुन् भन्दै स्मरण गरे ।
साहित्यकार उषा शेरचन, पोखरेली युवा साँस्कृतिक मञ्चका अध्यक्ष सुरेश रानाभाट, थकाली सेवा समाजका अध्यक्ष अम्बर तुलाचलन लगाएतले भूपीको साहित्यिक योगदानको बारेमा चर्चा गरेका थिए । उनीहरुले भूपिका कविताहरुको प्रशंसा गर्दै पछिल्ला पुस्ताका कविहरुले भूपीबाट सिक्नुपर्ने धेरै कुराहरु रहेको बताएका थिए ।
यस्तै, सम्मानित व्यक्तित्व मोमीलाले भूपी स्मृति सम्मानबाट सम्मानित हुन पाउँदा आफुमा अझै बढि रंग भरिएको महशुस गरेको बताईन् । कवि भूपिको नाम जोडिएको सम्मान, त्यसमाथि कविता र उपन्यासका माध्यमबाट आफूलाई निकै प्रभावित पार्न सकेको सरुभक्तकै हातबाट सम्मान थाप्ना पाउँदा निकै हर्षित महशुस गरेको बताईन् । उनले आगामी दिनमा आफ्नो काव्यिक यात्रालाई अगाडि बढाउन सम्मानले थप हौसला दिएको अनुभव सुनाईन् ।
कार्यक्रममा भूपी शेरचनको व्यक्तित्व र उनले लेखेका कविताहरुको बारेमा वक्ताहरुले चर्चा गरेका थिए । असफल गौतमले भूपी शेरचनको बारेमा गरेको चर्चासँगै शुरु भएको कार्यक्रममा उपस्थित कविहरुले भूपीको कविताहरु पनि सुनाएका थिए । सम्मानित व्यक्तित्व मोमिलाको व्यक्तित्वको बारेमा कवि सरस्वती प्रतिक्षाले चर्चा गरेकी थिईन् । वि.सं. २०२४ सालमा धनकुटाको हिलेमा जन्मिएकी ४७ वर्षीया सुन्दरी कवि मोमिलाको चलचित्रकी नायिका बन्ने सपना थियो । हाल काठमाण्डौंको गोल्डेन गेट कलेजमा सहायक प्राध्यापकका रुपमा कार्यरत कवि मोमिलाको पैंयु फुल्न थालेपछि कविता संग्रह २०५२, निलो निलो आकाश र दुई थोपा आँशु निबन्ध कविता संग्रह २०५३, जुनकिरीहरु उर्लिरहेछन् कविता संग्रह २०५५, दुर्गम उचाईंमा फूलको आँधी कविता संग्रह २०६०, ईश्वरको अदालतमा निबन्ध संग्रह २०६३, भिमसेन थापाको सुसाईड नोट कविता संग्रह २०१४ लगायतका अंग्रेजी तथा नेपाली निबन्ध र कविता संग्रहहरु प्रकाशित छन् ।
सम्मान कार्यक्रम पछि भएको कवि गोष्ठिमा पोखराका १३ जना कविहरुले कविता सुनाएका थिए । दुर्गाबहादुर शाह ‘बाबा’, सरस्वती प्रतिक्षा, मन क्षेत्री, सुरेश रानाभाट, शरण आँशु, सुर्य खड्का ‘बिखर्ची’, चुँडामणी बराल, सरस्वती श्रेष्ठ ‘सरु’, रमा प्राशर, विष्णु बाँस्तोला, अशोक शेरचन, बबि गौचन र सादर गुरुङले कविता वाचन गरेका थिए । केहि भूपी शेरचनसँग सम्बन्धित रहेर र बाँकि देशको परिस्थितीलाई व्यङ्ग हानिएको कविता सुनाएर उनीहरुले भूपीलाई सम्झिएका थिए । कार्यक्रमको संयोजन गरेकी मिलन शेरचनले कार्यक्रम सफल बनाएकोमा सबैलाई धन्यवाद दिईन् ।
Photo: Shiva Sharma ‘Chanchal’

