
पोखरा । गण्डकी प्रदेशका थप २४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा शुक्रबार प्रकाशित तथ्यांक अनुसार ३ जिल्लामा थप २४ जनामा संक्रमण पुष्टि भएको हो।
शुक्रबार कास्कीका ६ जना, बागलुङका १४ जना, स्याङजाका ६ जना र नवलपरासी पूर्वका २ जनामा संक्रमण देखिएको हो ।
संक्रमितहरु कास्कीको पोखरा महानगरपालिकाका ३ पुरुष र २ महिला, रुपा गाउँपालिकाका एक पुरुष र बाग्लुङको गल्कोट नगरपालिकाका ६ पुरुष र २ महिला, काठेखोला गाउँपालिकाका ६ पुरुष रहेका छन् ।
यस्तै स्याङजाको कालिगण्डकी गाउँपालिकाका एक जना पुरुष र पालिका नखुलेका एक पुरुष र नवलपरासी पूर्वको विनयत्रिवेणी गाउँपालिकाका २ जना पुरुषमा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ।
योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या ३ सय ४८ पुगेको छ।
गण्डकी प्रदेशमा हालसम्म पर्वतका ३८ जना, तनहुँका २६ जना, बागलुङमा ५६ जना, स्याङ्जाका ७५ जना, नवलपरासी बर्दघाट सुस्ता पूर्वका ९९ जना, लमजुङका १ जना, म्याग्दीका ३ जना, गोरखाका ३६ जना, मनाङका १ जना र कास्कीका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेशमा संक्रमण देखिने जिल्लाको संख्या १० पुगेको छ । यस्तै प्रदेशमा संक्रमित मध्ये ३४ जना निको भइ घर फर्किसकेका छन् ।
गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

