
पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ८ सय ३८ पुगेको छ । प्रदेशमा हिजो बेलुका १४ जना र विहान ३२ जना नयाँ कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या ८ सय ३८ पुगेको हो ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार हिजो (शुक्रबार) बेलुका प्रदेशका कास्की, पर्वत, गोरखा र लमजुङका १४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
शुक्रबार बेलुका कास्कीको मादी गाउँपालिकाका २३ बर्षीय पुरुष, पर्वतका २३ र ७० बर्षीय २ पुरुष, गोरखाका २० देखि २६ बर्ष उमेर समुहका ५ पुरुष र लमजुङका २९ देखि ५९ वर्ष उमेर समुहका ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै आज (शनिबार) प्रदेशका बागलुङ, स्याङ्जा र नवलपुरका २६ जना पुरुष र ६ महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
शनिबार बिहान बागलुङका २ पालिकाका ८ पुरुष, स्याङ्जाका ४ पालिकाका १६ पुरुष र ६ महिला तथा नवलपुरको हुप्सेकोटका २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
गण्डकी प्रदेशमा हालसम्म कोरोनाबाट २ जनाको मृत्यु भइसकेको छ ।


