
पोखरा । आज असार १५, राष्ट्रिय धान दिवस । यस दिन नेपाली समाजमा दहि चिउरा खाने पर्वका रुपमा लिइन्छ । ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ १७ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्तसव गरिंदैछ ।
किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा ब्यस्त हुन्छन् । कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही चिउरा खान्छन् । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । स्वास्थ्यको दृष्टिकोणले दही र चिउरा शरीरमा ऊर्जा र शीतलता दिनुको साथै पाचन प्रणालीका लागि निकै उत्तम खाद्य पदार्थ हो ।
आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै धान रोपिन्छ । युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् ।
तर यस वर्ष कोरोना भाइरसको त्रासका कारण सरकारले धान दिवस र रोपाइँ महोत्सवमा हिलो खेल्न नपाइने नियम बनाएको छ । यस वर्ष सकेसम्म २५ जनामात्र सहभागी हुने र २५ भन्दा बढी सहभागी भए सहभागीबीच न्युनतम ६ फिट (२ मिटर) दूरी कायम गर्नुपर्ने नियम बनाइएको छ । सम्भव भएसम्म सहभागीको ज्वरो नापेर १००.४ डिग्री फरेन्हाइट भन्दा बढी तापक्रम देखिएमा प्रवेश नदिने जनाइएको छ ।महोत्सवमा प्रवेश गर्नुअघि मास्क लगाउने, साबुनपानीले हात धुने वा स्यानिटाइजर लगाउन अनिवार्य गरिएको छ ।
२०६२ सालदेखि यो दिनलाई सरकारले धान दिवसका रूपमा मनाउन थालेको हो ।
यो पनि पढ्नुहोस्:
रोपाइँ महोत्सवमा हिलो छ्याप्न नपाइने, सहभागी हुन यस्तो छ नियम !
