आज हरिशयनी एकादशी, घरघरमा तुलसी रोपी मनाइँदै

Share:

पोखरा । आज हरिशयनी एकादशी, घरघरमा तुलसीको विरुवा रोपी मनाइँदै छ ।

आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारेर विशेष पूजा शुरु गरिन्छ । एक महिनाअघि जेष्ठ शुक्ल एकादशीका दिनमा मोठमा राखिएको तुलसीको बिरुवा मोठमा सारिन्छ ।

सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ ।

आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको हो । भगवान् विष्णु शयन गर्ने चार महीनालाई चतुर्मासा पनि भनिन्छ ।

एक वर्षमा २४ एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत बस्छन् ।

एकादशीका दिन विशेषगरी चामलबाट बनेका परिकार नखाई रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ । बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा समेत प्रयोग गरिन्छ ।

कमेन्ट गर्नुहोस्
Share: