पार्टीको अध्यक्ष बनेर परिक्षा दिन चाहन्छुः भट्टराई जर्नादनको फरक मत

Share:

काठमाडौं, पुस १३ – एकीकृत नेकपा माओवादीको आज बसेको केन्द्रीय समितिको बैठकमा डा. बाबुराम भट्टराईले पार्टी नेतृत्वको परिक्षा आफूले पनि दिन पाउनुपर्ने बताएका छन् । उनले एक पटक पार्टीको अध्यक्ष बनेर परिक्षा गर्न चाहेको बताएका हुन् ।

‘स्वभाविक रुपमा अध्यक्ष प्रचण्ड हट्ने हुँदा मैले पनि इच्छा र साहस गरेको हुँ,’ बैठकमा भट्टराईको भनाई उद्धृत गर्दै एक नेताले रातोपाटीलाई बताए ।

नेतृत्व हस्तान्तरणको विषयप्रति इगिंत गर्दै भट्टराइले बैठकमा थपे ‘नेतृत्व हस्तान्तरण भन्दा विचारको विकास गर्ने कुरो मुख्य हो । अध्यक्षलाई नमान्ने भन्ने होईन उहाँ नेताहरुको पनि नेता हो । तर हामी विशेष प्रयोगमा जान खोज्दैछौं । त्यो प्रयोग हामी जीवीत हुदै गर्नु पर्छ । मैले पनि प्रयोग गर्नु पाउनुपर्र्यो मेरो पनि परिक्षा हुनुपर्यो । यदि म तल माथी हुदा खेरि अध्यक्षले करेक्सन गर्न सक्नुहुन्छ ।’

डा. भट्टराईले आफूलाई दक्षिणपन्थी र संगठन संचालन गर्न नसक्ने जस्ता आरोपहरु लाग्ने गरेकोमा पनि दुःख व्यक्त गरेका थिए । उनले भने, ‘म कस्तो हुँ भनेर व्यवहारले पुष्टि गरिसकेको छु ।’

उनले यतिबेला युवापुस्ता नेतृत्वमा आउन तयार भइनसकेकाले आफूले एकपटकका अध्यक्ष लिन अघि बढेको बताए । ‘युवाहरुलाई नेतृत्वका लागि म आफै तयार गर्छु,’ उनले भने । उनले प्रचण्ड राष्ट्रपति बन्नका लागि अध्यक्ष पद छाड्न लागेको कुरा गलत भएको भन्दै त्यसको खण्डन पनि गरेका छन् ।

नेतृत्व लेनदेनले वैचारिक पक्ष ओझेल

त्यस्तै नारायणकाजी श्रेष्ठले लिने र दिनेको कुरा मिलेपछि किन मैले मान्नु भन्दै व्यंग गरेका थिए । उनले प्रचण्ड र बाबुरामबीच नेतृत्व हस्तान्तरणको बारेमा भएको लेनदेनले महाधिवेशनमा हुनुपर्ने वैचारिक बहसलाई फितलो बनाउने खतरा देखिएको बताएका थिए ।

उनले पार्टीभित्र देखिएको भ्रष्टिकरण र वर्गचरित्रमा आएको स्खलनलाई नसुधारेसम्म महाधिवेशन सफल नुहने बताएका थिए । उनी पार्टीको रुपान्तरणमा विशेष जोड दिएका थिए । उनले महाधिवेशनका लािग समय अझै अपुग रहेको बताउँदै यसका लागि समयावधि थप गरिनुपर्ने माग राखेका थिए ।

श्रेष्ठले १९ दलीय मोर्चाले घोषणा गरेको आमहड्तालले जनतामा गलत सन्देश दिने भन्दै यसमा असहमति जनाएका थिए ।

जनार्दन शर्मा ‘प्रभाकर’ को फरक मत

एमाओवादीको आज बसेको बैठकमा अध्यक्ष प्रचण्डको प्रस्तावमाथी छलफल हुदा उपाध्यक्षद्वय बाबुराम भट्टराई र नारायणकाजी श्र्रेष्ठले प्रस्तावमाथि समर्थन गरेका छन् भने अर्का प्रभावशालि नेता जनार्दन शर्मा ‘प्रभाकर’ले लिखित रुपमा फरक मत प्रस्तुत गरेका छन् । रातोपाटीसँग उनले सबै कुरा मिडियालाई भन्न नमिल्ने बताए ।

‘केन्द्रिय समितिमा केके भयो सबै भन्न मिल्दैन’ उनले भने । तर हामीलाई स्रोतले बताएअनुसार प्रभाकरले प्रस्तुत गरेको प्रस्तावमा सबै केन्द्र र बिचारधाराका माओबादीहरुविचमा एउटा बैचारिक सभा गरि एकताबद्द गर्ने कुरा छ ।

३ महिना भित्रै बैचारिक सभा गरेर आन्दोलन र पार्टीलाई एकताबद्द गरी पुन एउटा ठुलो आन्दोलन या अभियान बनाउनुपर्ने उल्लेख छ । उनले आफ्नो प्रस्ताव केन्द्रिय कार्यालयमा औपचारिक रुपमा दर्ता गराएका छन् । प्रचण्डले प्रस्तुत गरेको प्रस्तावमा उनको समर्थन सहितको यो पुरक प्रस्ताव हो या विमति सहितको छूट्टै प्रस्ताव हो भन्ने बारे भने खुलेको छैन ।

आजको बैठकमा डा भट्टराई, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा र जनार्दन शर्माले आफ्नो धारणा राखेका थिए । अर्को बैठक सोमबार बिहान ११ बजे पुनः बस्ने भनिएको छ ।

Via: Ratopati.com

कमेन्ट गर्नुहोस्
Share: