
काठमाडौँ । कोरोना (कोभिड(१९) को संक्रमणका कारण नेपालमा थप तीन जना को मृत्यु भएको छ। काठमाडौँका दुई जना र सिन्धुपाल्चोकका एक जनाको मृत्यु भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको छ।
काठमाडौँ–१० नयाँ बानेश्वरका एक ६० वर्षीय पुरुषको उपचारको क्रममा असार २६ गते मृत्यु भएको छ। उनी मिर्गौलाका बिरामी थिए। १६ गते पाटन अस्पतालमा भर्ना भएका उनको १७ गते स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।
यस्तै सिन्धुपाल्चोक जिल्ला पाँचपोखरीका अर्का एक जना संक्रमितको पनि असार २५ गते पाटन अस्पतालमा नै मृत्यु भएको मन्त्रालयले जनाएको छ। क्षयरोगका बिरामी उनी असार १७ गते पाटन अस्पतालमा भर्ना भएका थिए। उनको असार २२ मा कोरोना परीक्षण गरिएकोमा कोरोना पोजेटिभ आएको थियो । उनको उपचारका क्रममा नै असार २५ गते मृत्यु भएको हो।
त्यस्तै काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ का ५४ वर्षीय कोरोना संक्रमित व्यक्तिको पनि असार २५ मा नै मृत्यु भएको मन्त्रालयले जनाएको छ । जेठ ३१ गते कोरोना परीक्षण गर्दा पोजेटिभ आएको थियो । मिर्गौलाका बिरामी उनको काठमाडौं मेडिकल कलेजमा उपचार भएको थियो।
योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३८ पुगेको छ। नेपालमा हालसम्म १६ हजार ७ सय १९ कोरोना संक्रमित पुष्टि भएका छन् भने ८ हजार ४ सय ८२ जना निको भएर घर फर्किएको छ।
