कास्कीको माछापुच्छ्रे खोराको मुखमा पहिरो जाँदा एकै परिवारका ३ बालबालिकाको मृत्यु, ८ घरपरिवार विस्थापित

Share:

कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ८ स्थित खोराकोमुख, पाखा भन्ने ठाउँमा पहिरो जाँदा एकै परिवारका ३ जना बालबालिकाको घटनास्थलमै मृत्यु भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण प्रेमराज विकको घर पछाडिबाट  पहिरो खस्दा बिकका तीन नातिनातिनीको मृत्यु भएको हो ।

पहिरोमा परी ज्यान गुमाउनेमा १६ वर्षीय कुशल बिक, १६ वर्षीया रोजिना बिक र १४ वर्षीय समीर बिक रहेको कास्की प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिए । उनीहरु सुतेको कोठामाथि पहिरो खसेको थियो ।  घरको २०० मिटर माथिबाट झरेको पहिरोले घर बगाएको हो । ढुङ्गा माटोले बनेको कच्ची घरको तीन वटा कोठा पहिराले बगाएको हो ।

मृतक ३ बालबालिका प्रेम बिकका ३ छोराका छोराछोरी हुन् । कुशल माइला छोराका छोरा हुन् । रोजिना जेठो छोराकी छोरी हुन् भने समिर कान्छा छोराका छोरा हुन् । माइला छोरा हेम्जामा बस्छन् । कान्छी बुहारी समिर घरमा छाडेर अर्को बच्चाका साथ माइत गएकी छन् ।

राति घरमा ६ जना सुतिरहेको अवस्थामा पहिरो खसेको थियो । बाँकी ३ जना शकुसल रहेको प्रवक्ता हमालले बताए । घटनास्थलमा प्रहरीको टोली पुगेर शव बाहिर निकालिसकेको छ । वडा प्रहरी कार्यालय बगरबाट इन्स्पेक्टर मुक्तिनाथ सापकोटाको नेतृत्वमा टोली घटनास्थलमा पुगेको थियो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल र कास्की प्रहरी प्रमुख जीवनकुमार श्रेष्ठ समेत घटनास्थलतर्फ गएको प्रवक्ता हमालले जानकारी दिए ।

८ घरपरिवारका ४ दर्जन विस्थापित

पहिरोले ८ घर परिवार विस्थापित भएका छन् ।पहिरोका कारण यी परिवारका झण्डै चार दर्जन बिचल्लीमा परेका छन् । 

वडाध्यक्ष कृष्ण दवाडीका अनुसार पहिरोमा परी तीन नातिनातिनी गुमाएका प्रेमराज बिकको ४ जना सहित ८ परिवारका ४३ जना विस्थापित भएका हुन् । छिमेकीहरु डिलबहादुर विकको ८ जनाको परिवार, रबिलाल बिक, नारायण बिक र जसबहादुर विकको ६-६ जना, चित्रबहादुर विकको ५ जना, आइबहादुर बिक र डिलबहादुर बिकको ४-४ जना गरी ४३ जना विस्थापित भएको दवाडीले बताए ।

उनीहरुले अहिले सुरक्षित स्थानमा छन् । सामुदायिक विद्यालयमा राख्ने भनिएपनि नमानेको कारण दुई परिवार सामुदायिक भवनमा र बाँकी ६ परिवार आफन्तकोमा बसेको उनले बताए ।  शुक्रबार बिहानको पहिरोमा परि ३ जना बालबालिकाको ज्यान गएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: