
रेम बिक / पोखरा, १६ पुस | मनकामना केबलकार पोखरा कपको चौथो सँस्करणको प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगिता पुसको २२ गतेदेखि शुरु हुने भएको छ । आयोजक कास्की जिल्ला फुटबल संघले बुधबार पोखरामा पत्रकार सम्मेलन गरि प्रतियोगिताको बारेमा जानकारी दिएको हो ।
यसअघि सफल दुधको प्रायोजनमा ‘सफल पोखरा कप’को नामबाट संचालन हुँदै आएको प्रतियोगितालाई यो वर्षदेखि मनकामना दर्शन प्रालिले मुख्य प्रायोजन गरेको छ ।
माघ ३ गतेसम्म चल्ने प्रतियोगितामा राष्ट्रिय र अन्तराष्ट्रिय गरि १२ टिमले सहभागिता जनाउने संयोजक मिलन गुरुङले जानकारी दिए । नेपाल पुलिस क्लब, सशस्त्र, आर्मी, मनाङ मस्र्याङ्दी, थ्री स्टार, पोखरा ११, सरस्वती यूथ क्लब, धरान, रुपन्देही, झापासँगै हङकङ र भुटानका टिम पनि यो पटक प्रतियोगितामा भिड्नेछन् । प्रतियोगितामा ए डिभिजन र बि डिभिजन खेलेका खेलाडीहरु उत्रनेछन् ।
प्रतियोगितामा पुरस्कार राशि भने यसअघि कै हुने आयोजकले बताएको छ । आयोजकले दिएको जानकारी अनुसार प्रतियोगितामा प्रथम हुने टिमले ३ लाख ५५ हजार रुपैँया प्राप्त गर्नेछ । त्यस्तै दोस्रोले २ लाख १० हजार रुपँैया प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी दिईयो । प्रतियोगितामा बेस्ट प्लेयर विधामा पुरस्कृत हुने एक जना खेलाडिलाई मोटरसाईकल प्रदान गरिनेछ भने विभिन्न विधामा उत्कृष्ट हुनेलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले बताएको छ ।
प्रतियोगिताबाट ६२ लाख रुपैँया आय गर्ने आयोजकको लक्ष्य छ । प्रतियोगिताका आर्थिक सँयोजक मदन केसीका अनुसार करिब १५ लाख रुपैँया आयोजकले वचत गर्ने गरि खर्च गर्नेछ । वचत भएको रकमबाट शान्ति स्तुपाको पहिरो रोक्नका लागि आवश्यक पुर्वाधार निर्माण गर्न आयोजकले सहयोग गर्ने पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
तस्वीर : गोकुल बानीयाँ

