२४ घण्टायता थप १३९ जनामा कोरोना पुष्टि, ६२६ डिस्चार्ज

Share:

काठमाडौँ । नेपालमा थप १ सय ३९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट १ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार सबैभन्दा धेरै दैलेखमा २८ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै सप्तरीका २१, पर्साका २०, धनुषा र महोत्तरीका १०/१० जना, बैतडीका ४, कास्की, काठमाडौँ र ललितपुरका ३/३ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

त्यस्तै सल्यानका २ तथा सिराहा, काभ्रे, बाँके, रुपन्देही र सुर्खेतका एकरएक जनामा संक्रमण देखिएको छ ।

सयसँगै नेपालमा संक्रमितको संख्या १८ हजार ७५२ जना पुगेको छ।

थप ६२६ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप ६२६ जना कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन्। देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।

योसहित नेपालमा हालसम्म १३ हजार ७५४ उपचारपछि निको भएका छन्।

हाल ४ हजार ९ सय ५० जना सक्रिय संक्रमितको उपचार भइरहेको छ भने १६ हजार ३७९ जना हाल क्वारिन्टीनमा छन् ।

यस्तै हालसम्म नेपालमा ४८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

कमेन्ट गर्नुहोस्
Share: