सिन्धुपाल्चोकको बाह्रबिसेमा पहिरोः ३ जनाको मृत्यु, २८ जना बेपत्ता

Share:

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ का तीन स्थानमा गए राति पहिरो जाँदा ३ जनाको मृत्यु भएको छ । २८ जना बेपत्ता भएका छन् ।

पहिरोमा परी बेपत्ता भएका नागपुजेकी ६५ वर्षीया भक्तिमाया श्रेष्ठ, भिरखर्कको विक टोलकी २३ वर्षीया जुनुमाया विक र नेवार टोलकी ६० वर्षीया सर्किनी नेवारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

गएराति भारी वर्षासँगै गएको पहिरोले बाह्रबिसे नगरपालिका–७ मा पर्ने घुम्थाङको नागपुजे, भिरखर्क र नेवार टोलमा घरहरु पुरेको छ । पहिरोले ११ वटा घरमा क्षति पुगेको जनाइएको छ ।

घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् । सभामुख अग्नि सापकोटासहितको टोली पनि आजै बिहान स्थलमार्गबाट पहिरो प्रभावित क्षेत्रमा पुगेका छन् ।

गएराति परेको पानीका कारण ठाडो खोलाले वस्तीमा क्षति पुर्याएको हो ।

सिन्धुपाल्चोकका गुमथाङ, बाह्रविसे र आसपासका क्षेत्रमा ६ घण्टायता ठूलो वर्षा भएको थियो । बलेफी र जलविरेमा जलसतह सतर्कता तहसम्म पुगेको र यो बढ्दो क्रममा रहेको जनाइएको छ । साथै भोटेकोशी, इन्द्रावती, मेलम्ची र सिन्धुपाल्चोकका अन्य साना नदीमा आकस्मिक बहाव हुन सक्ने र पहिरो जान सक्ने भएकाले आज बिहान १० बजेसम्म सतर्क रहन केन्द्रले आग्रह गरेको छ ।

सिन्धुपाल्चोकमा गत साउन ३० गतेयता पटक पटक बाढी र पहिरो आउँदा ठूलो मानवीय क्षति भएको छ । गत साउन ३० गते विहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा पुरिएर ३७ जनाको मृत्यु भएको थियो । दुईजना अझै बेपत्ता छन् ।

कमेन्ट गर्नुहोस्
Share: