
काठमाडौँ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म चल्ने रेल शुक्रबार नेपाल प्रवेश गरेको छ ।
भारतमा निर्माण भएको रेल भारतको जयनगर स्टेशनबाट जनकपुर ल्याईंदैछ । अहिले रेल नेपाली भूमि प्रवेश गरेको र दिउँसोसम्म जनकपुर आइपुग्ने रेल विभागले जनाएको छ । नेपालको राष्ट्रिय झण्डा अंकित दुई वटा रेल भारतको बिहारमा रहेको हाजीपुर स्टेसनबाट जयनगर हुँदै जनकपुर ल्याइएको हो ।
जनकपुर स्टेसनमा रोकिने रेल भारतीय रेल निर्माता कम्पनीले नेपाललाई हस्तान्तरण गर्नेछ ।
रेल विभागले २०१९को मे महिनामा ८४ करोड ६५ लाख रुपैयाँमा भारतको सरकारी कम्पनी कोंकन रेल्वे कर्पोरेसनसँग रेल किन्ने सम्झौता गरेको थियो ।
६ वर्षअघि २०७१ सालदेखि रेल सेवा बन्द रहेकोमा अब फेरि सञ्चालन हुनेछ । आवश्यक कानुन बनाएर दशैं–तिहारपछि रेल सञ्चालनमा ल्याउने विभागले जनाएको छ ।
यसअघि नेपालमा कोइलाबाट चल्ने रेल चल्थ्यो । अब भने डिजेल इलेक्ट्रिफाइड मल्टिपल युनिट प्रविधिको रेल चलाउन लागिएको हो । यो रेल डिजेलबाट निस्किने बिजुलीबाट चल्छ ।
जयनगरदेखि धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको रेलमार्गको भौतिक पूर्वाधार निर्माण भइसकेको छ ।
पहिलो चरणमा जनकपुरसम्म चल्ने रेल महोत्तरीको बिजलपुरासम्म चलाउने सरकारको योजना छ । सरकारले जयनगरबाट आउने रेललाई ४ वर्षभित्र बर्दिवासमा पूर्व–पश्चिम रेलमार्गसँग जोडेर निजगढसम्म ल्याउने घोषणा गरेको छ ।
