रुपाकोट महोत्सव भोलिदेखि

Share:

रञ्जन अधिकारी पोखरा, २८ पुस / कास्कीको रमणीय एवं पर्यटकीय गाउँ रुपाकोट १ भीरचोकमा मंगलबारदेखि रुपाकोट महोत्सव २०७१ आयोजना हुँदैछ । ‘स्थानीय कला संस्कृतिको संरक्षण, रुपाकोटको वृहत्तर विकास’ नाराका साथ स्थानीय ध्रुबतारा क्लबले आफ्नो १५ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको तीन दिने महोत्सव माघ १ गतेसम्म चल्नेछ ।रुपाकोट गाविस, चन्द्रप्रभा उच्च मावि, भिरचोक आमा समूहको सहयोग तथा नेपाल पर्यटन बोर्डका प्रवद्र्धनमा महोत्सव संचालन हुन लागेको हो । मेलाको सम्पूर्ण तयारी पूरा भएको क्लबका अध्यक्ष एवं मेला संयोजक प्रेमकुमार खड्काले जानकारी दिए ।

मेलामा राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारहरुबाट लोकदोहोरी एवं हाँस्य प्रहसन प्रस्तुत गरिने सांस्कृतिक संयोजक मनोज गुरुङले जनाए । उनका अनुसार एकल तथा सामूहिक नृत्य प्रतियोगिता, डकुमेन्ट्री प्रदर्शन समेत गरिने छ । सामूहिक नृत्य प्रतियोगितामा प्रथम हुनेले नगद छ हजार, द्वितीय हुनेले तीन हजार तथा एकल नृत्यमा प्रथम हुनेले नगद चार हजार र द्वितीय हुनेले नगद दुई हजार पाँच सय पाउनेछन् ।

यस्तै, स्व. डिलबहादुर र मनश्री गुरुङको स्मृतिमा परिवारले प्रायोजन गरेको दशौं ध्र्रुबतारा भलिबल प्रतियोगिता महोत्सवको मुख्य आकर्षण हो । खेलकूद संयोजक ओमप्रकाश गुरुङका अनुसार भलिबल प्रतियोगिताका साथै छेलो, महिला तथा बाल कुर्ची खेल प्रतियोगिता पनि हुनेछ । भलिबल प्रतियोगितामा विजेताले २५ हजार शिल्ड, मेडल र प्रमाणपत्र, उपविजेताले १५ हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । अनुशासित टिमले नगद १५ सय सहित सबैले प्राप्त गर्नेछन् भने बेस्ट प्लेयर, बेस्ट सटर, बेसट डिफेण्ड र बेस्ट लिफ्टरलाई आकर्षक टिसर्ट, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रावि स्तरीय हाजिरी जवाफमा प्रथमहुनले तीन हजार, दोस्रो हुनले दुई हजार र तेस्रो हुनेले एक हजार प्राप्त गर्नेछन् । २०५६ देखि २०६० सालसम्म माघेसक्रांन्ति मेला आयोजना गर्दै आएको क्लबले २०६५ सम्म भिरचोक मेला र २०६५ देखि रुपाकोट महोत्सव आयोजना गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
Share: