
गोकुल बानियाँ पोखरा ३० पुस / सशक्त टीम मनाङ मस्र्याङ्दी विरुद्ध सनसनीपूर्ण जीत हात पार्दै नेपाल पुलिस क्लब पोखरामा जारी मनकामना केबुलकार पोखरा कपको फाईनल प्रवेश गरेको छ । पोखरा रंगशालामा बुधवार भएको खेलमा मनाङ मस्र्याङदीलाई २–१ ले पन्छाउदै पुलिस उपाधि नजिक पुगेको हो ।
खेलको चौथो मिनेटमै भरत शाहको गोलबाट अग्रता लिएको पुलिस बिरुद्ध मनाङका अनिल गुरुङले १६ औं मिनेटमा बराबरी गोल गरेपनि १९ औं मिनेटमा जुमानु राईले गोल गर्दै पुलिसको अग्रता कायमै राखे । ३३ औं मिनेटमा टिम क्याप्टेन जुमानु राई घाईते भएसंगै दवाबमा परेपनि पुलिसले मनाङलाई थप गोल गर्ने मौका दिएन । खेलको ५२ औं मिनेटमा पहिलो कार्ड पाएका हेम गुरुङले ८३ औं मिनेटमा अर्को पहेलो कार्ड संगै रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि मनाङ १० खेलाडिमा सिमित भएको थियो ।
दोस्रो हाफमा पुलिसले आक्रमक खेल्यो र मनाङमाथिको दवाब कायमै राख्यो जसका कारण पहिलोपटक मनकामना केबुलकार पोखरा कपको फाईनल यात्रा तय गर्न सफल भयो । यसअघिका संस्करणमा पहिलो खेलबाटै बाहिरिएको पुलिसले दोस्रो र तेस्रो संस्करणको उपाधि बिजेता मनाङलाई हराउँदै उपाधि माथिको दाबेदारी प्रस्तुत गरेको हो ।
मनाङका प्रशिक्षक नबिन न्यौपानेले टिम कम्युनेशन नमिलेकाले हार ब्यहोर्नुपरेको प्रतिक्रिया दिए । पहिलो हाफ दवाबमा परेपनि दोस्रो हाफमा पुनरागमन गरेको तर पाएको अबसरलाई सदुपयोग गर्न नसकेको बताए ।
पुलिसका प्रशिक्षक बिराट कृष्ण श्रेष्ठले मनाङको खेल अनुसारको रणनिति अपनाएकाले हराउन सफल भएको बताए । उनले अब आउने टिम हेरेर खेल रणनिति परिबर्तन पनि हुनसक्ने बताए ।
पुलिसले उपाधिको लागि माघ ३ गते बिहिवार एपिएफ र थ्रिस्टार बिचहुने खेलको बिजेतासंग प्रतिश्पर्धा गर्नेछ । प्रतियोगिताको उपाधि बिजेताले ३ लाख ५५ हजार र उपबिजेताले २ लाख १० हजार पुरस्कार प्राप्त गर्नेछ ।
