
पोखरा । गण्डकी प्रदेशमा आइतबार थप एक कोरोना संक्रमितको मृत्यु भएको छ भने ९७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
पोखराको चरक मेमोरियल हस्पिटलमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको हो।
निर्देशनालका अनुसार कोरोना संक्रमण भई हस्पिटलमा उपचाररत पोखरा ९ की ७० वर्षीया बृद्धा महिलाको उपचारका क्रममा आइतबार बिहान ८ः४५ बजे मृत्यु भएको हो ।
ती महिलामा उच्च रक्तचाप र निमोनिया लगायतका समस्या रहेको निर्देशनालयले जनाएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोनाले मृत्यु हुनेको संख्या ५० पुगेको निर्देशनालयले जनाएको छ ।
यसैगरी आइतबार (आज) प्रदेशको ७ वटा जिल्लाका ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । निर्देशनालयले आज ५ पटकसम्म विज्ञप्ति जारी गरी सो बारे जानकारी दिएको हो ।
संक्रमित हुनेमा कास्कीका ३० जना, नवलपुरका २४ जना, तनहुँका २० जना, गोरखाका ९ जना, बाग्लुङ र स्याङ्जाका ५/५ जना र लमजुङका ४ जना रहेका छन् ।
निर्देशनालयका अनुसार कास्कीमा थपिएका संक्रमित मध्य पोखरा महानगरपालिकाका २८ जना र अन्नपूर्ण गाउँपालिकाका २ जना रहेका छन् ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ७३० पुगेको छ ।
