
पोखरा । गण्डकी प्रदेशमा सोमबार कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले आज नवलपुरका २, कास्की र बाग्लुङका १,१ जनाको मृत्यु पुष्टि गरेको हो ।
आज नवलपुरको गैंडाकोट १२ का ८५ बर्षीय पुरुष र देवचुली–११ का ७५ वर्षीया महिला, बागलुङको बागलुङ नगरपालिका १३ स्थायी घर भई पर्वतमा बस्दै आएकी ४८ वर्षीया महिला तथा निर्देशनालयले (प्रतिवेदन गर्न छुट भएको) असोज ३० गते पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा मृत्यु भएकी कास्की जिल्ला, पोखरा महानगरपालिका ३ का ५६ बर्षीय महिलाको मृत्यु पुष्टि गरेको हो ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५४ पुगेको छ ।
कास्कीका १३२ सहित प्रदेशमा २३० संक्रमित थपिए
यसैगरी आज गण्डकी प्रदेशमा २३० (एक मृतक सहित) जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश अन्तर्गत आज सबैभन्दा धेरै कास्की जिल्लाका १३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा संक्रमण पुष्टि भएका मध्य पोखरा महानगरपालिकाका मात्रै १२८ जना हुन् भने ४ जना मादी गाउँपालिकाका हुन् ।
यस्तै तनहुँका ३५ जना, बाग्लुङका २३ जना, नवलपुरका १७ जना, स्याङ्जाका १४ जना, लमजुङका ५ जना, पर्वतका २ जना र गोरखाका १ जनामा कोरोना संक्रमण देखिएको हो ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ९६० पुगेको छ ।
निर्देशनालयका अनुसार आज गण्डकीमा ८९ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । यो सहित प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ हजार ६०५ पुगेको छ ।
हाल प्रदेशमा २ हजार ३०१ सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा प्रदेशमा ४६४ नमुना परिक्षण भएको र हालसम्म ८२ हजार ६३४ परिक्षण भएको निर्देशिकाले जनाएको छ ।
