आफ्नै काकाको हत्या गरी फरार अभियुक्त पक्राउ

Share:

पोखरा । आफ्नै काकाको हत्या गरी ६ महिनादेखि फरार रहेका एक अभियुक्त पक्राउ परेका छन् ।

ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–५ बान्द्रे घर भई विगत तीन वर्षदेखि पोखरामा मजदुरी गर्दै आएका ५५ वर्षीय टंकबहादुर तामाङको हत्या गरेको अभियोगमा प्रहरीले तामाङका दाईका छोरा ४६ वर्षीय इन्द्रबहादुरलाई पक्राउ गरेको हो ।

गत वैशाख २१ गते पोखरा–२० स्थित मजुवा जङ्गल छेउमा रहेको पाल तथा स्याउलाले बनाएको छाप्रोमा तामाङको टाउको तथा अनुहारमा गम्भीर चोट लागि नाक, मुख र कानबाट रगत निस्केको अवस्थामा शव फेला परेपछि प्रहरीले अनुसन्धान शुरु गरेको थियो ।

घटनामा इन्द्रबहादुरको संलग्नता देखिएपछि खोजतलासको क्रममा लमजुङको मध्यनेपाल नगरपालिका–२ सोतीपसलमा कार्तिक २ गते फेला पारी पक्राउ गरेर पोखरा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

घटनापछि मृतकको छोराले ईन्द्र बहादुर तामाङविरुद्ध किटानी जाहेरी दिएका थिए । गत वैशाख २० गते राति मदिरा सेवन गरेपछि दुई जनाबीच झैझगडा शुरु भएको र सोही क्रममा इन्द्रबहादुरले टंकबहादुरको हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको जनाइएको छ ।

पक्राउ परेका तामाङले प्रारम्भिक सोधपुछ गर्दा घटना घटाएको स्वीकार गरेको र उनलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान कार्य अगाडि बढाइएको प्रवक्ता हमालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: