
पोखरा । पोखराका ४ सहित गण्डकी प्रदेशमा थप ८ जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले मंगलबार विज्ञप्ति जारी गरी सो बारे जानकारी दिएको हो ।
कास्की जिल्लाका ४ जना, बाग्लुङका २ जना, तनहुँ र नवलपुरका १/१ जना गरी ८ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार कास्कीका मृतक सबै पोखरा महानगरपालिकाका हुन् ।
कास्कीको पोखर महानगरपालिका वडा नं. ५ की ५९ वर्षीया संक्रमित महिलाको गए राति ११ बजे मृत्यु भएको छ ।
यस्तै पोखरा महानगरपालिका वडा नं.१३ का ५५ वर्षीय संक्रमित पुरुषको मंगलबार बिहान ११ः४५ बजे मृत्यु भएको छ । ती पुरुषमा सोमबार मात्रै कोरोना पुष्टि भएको थियो ।
पोखरा महानगरपालिका वडा नं. ६ का ७२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कार्तिक १४ गते कोरोना पुष्टि भएका ती पुरुषको सोमबार बिहान ४ः१५ बजे उपचारका क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
पोखरा महानगरपालिका वडा नं. ३ का ५२ वर्षीय संक्रमित पुरुषको पनि मृत्यु भएको छ । निर्देशनालयका अनुसार ती पुरुषको सोमबार बिहान ११ः४५ बजे उपचारका क्रममा मृत्यु भएको हो । ती पुरुषमा कार्तिक १२ गते कोरोना पुष्टि भएको थियो ।
यसैगरी बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका वडा नं. ३ का ६१ वर्षीय कोरोना संक्रमित पुरुषको सोमबार बेलुका ५ः३० बजे मृत्यु भएको थियो भने सोही ठाउँका ६६ वर्षीय अर्का संक्रमित पुरुषको पनि मंगलबार बिहान १०ः२० बजे मृत्यु भएको छ ।
त्यस्तै तनहुँको व्यास नगरपालिका वडा नं. ५ का ६६ वर्षीय संक्रमित पुरुषको सोमबार बिहान २ः१५ बजे मृत्यु भएको छ । ती पुरुषमा कार्तिक १६ गते कोरोना पुष्टि भएको थियो ।
नवलपुरको देवचुली नगरपालिका वडा नं. ११ का ८० वर्षीय कोरोना संक्रमित पुरुषको पनि मृत्यु पुष्टि भएको छ । ति पुरुषको कार्तिक १६ गते बिहान ११ः२६ बजे उपचारका क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ । ती पुरुषमा सोही दिन कोरोना पुष्टि भएको थियो ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८८ पुगेको छ ।

