
पोखरा । गण्डकी प्रदेशमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ । कास्कीका १ जना र नवलपुरका १ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालका अनुसार कास्कीको पोखरा महानगरपालिका वडा नं. १७ का २९ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
चरक मेमोरियल अस्पताल पोखरामा उपचाररत ती महिलाको शुक्रबार दिउँसो २ः२३ बजे उपचारकै क्रममा मृत्यु भएको हो । ती महिलामा कार्तिक १६ गते कोरोना पुष्टि भएको थियो ।
यस्तै नवलपुरको गैंडाकोट नगरपालिका वडा नं. १२ का ८२ वर्षीय कोरोना संक्रमित पुरुषको पनि मृत्यु भएको छ ।
कार्तिक १८ गते कोरोना पुष्टि भएका ती पुरुषको चितवन मेडिकल कलेज, चितवनमा उपचारका क्रममा शुक्रबार दिउँसो २ बजे मृत्यु भएको हो । उनी कार्तिक ३ गते पेटको आन्द्रमा समस्या भई सोहि अस्पताल भर्ना भएका थिए ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०२ पुगेको छ ।
