
काठमाडौं, माघ ६ / दलहरुबीच संविधान निर्माणमा सहमति नभएपछि संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रक्रिया सुरु गर्न लाग्दा दोस्रो पटक मंगलबार पनि नाराबाजी भएको छ ।
प्रक्रिया रोक्न माग गर्दै एमाओवादी र मधेसी दलसहितको विपक्षी मोर्चाले संविधानसभा बैठक १०० मिनेट नाराबाजी गरे । नाराबाजीका कारण प्रस्ताव निर्माण समिति गठन गर्ने तयारीमा अवरोध भयो । निरन्तर नाराबाजी भएपछि सभाध्यक्षले बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भयो ।
मंगलबारको दोस्रो बैठकमा कांग्रेस मुख्य सचेतक चीनकाजी श्रेष्ठले प्रस्ताव निर्माण समिति गठन गरियोस् भन्दै समितिमा रहने सदस्यहरुको नामावली प्रस्तुत गर्न विपक्षीले रोके । विपक्षी अवरोधले मंगलबार बिहानको बैठकमा पनि प्रस्ताव समिति निर्माणको प्रस्ताव हुन सकेको थिएन ।
दिउँसोको बैठकमा कांग्रेस मुख्य सचेतक चीनकाजी श्रेष्ठले प्रस्ताव गर्ने र एमाले मुख्य सचेतक अग्नि खरेलले समर्थन गर्ने कार्यसूचि थियो ।
विपक्षी गलाउने रणनीतिमा सभाध्यक्ष
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानसभा बैठकमा नाराबाजी गरिरहेका एमाओवादी नेतृत्वको विपक्षी मोर्चालाई गलाउने रणनीति लिए । १०० मिनेट विपक्षी सभासदहरु नाराबाजी गरिरहँदा पनि सभाध्यक्ष चुपचाप रहे । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेता बाबुराम भट्टराई, फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदार, फोरम अध्यक्ष उपेन्द्र यादव, तमलोपा संसदीय दलका नेता सर्वेन्द्रनाथ शुक्ल एकै ठाउँमा उभिएर नाराबाजी गरे । सत्तापक्षका सभासद् भने चुपचाप अवस्थामा बसे ।
आज पनि उमेश यादवको हर्कत
दिउँसो ३.१५ संविधानसभाको मंगलबार बिहान बसेको बैठकमा सिधै संविधानसभा अध्यक्षको रोष्ट्रमसम्म पुगेका सप्तरी– ३ का एमाओवादी सभासद् उमेश यादव दिउँसोको बैठकमा पनि सिधै रोष्ट्रम चढ्ने प्रयत्न गरे । उनलाई बाक्लो संख्यामा उपस्थित मर्यादा पालकले रोके भने एमाओवादी र मधेसी सभासद् बिहानजस्तो उत्तेजित र अराजक नभए पनि चर्को नाराबाजी जारी छ ।
मर्यादापालक थप
संसद् सचिवालय स्रोतका अनुसार मंगलबारको बैठकमा ५० जना मर्यादापालक थप गरिएको छ । संविधानसभा बैठकमा पनि हिजोभन्दा बढी मर्यादापालक परिचालन गरिएको थियो । विपक्षीहरु मंगलबार बिहानभन्दा बढी संयमित छन् ।
