उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सकियो छठ

Share:

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि चारदिने छठ पर्व सकिएको छ । शुक्रबार साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका ब्रतालुहरुले आज बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिएका हुन् ।

माटोको घैला, दियो, ढकनी, सर्वी, हात्ती, पानालगायतका सामग्रीसहित बाँसको कोनिया, ढक्की, नाङ्लोमा केरा, ठकुवा, भुसवा, खजुरीलगायतका परिकार राखेर जलाशय (विभिन्न पोखरी, नदी, इनारलगायतको पानीको स्रोत) मा शरीर डुबाउँदै उदाउँदो सूर्यलाई अर्घ्य दिने गरिन्छ ।

कोरोनाको महामारीका कारण कतिपयले भने यसपालि घरको आँगन र छतमा नै कृत्रिम जलाशय बनाएर सूर्यको पूजा आराधना गरेका छन् । कतिपय ठाउँमा भने जलाशयमा नै पुगेर सामूहिक रुपमा नै छठ पर्व मनाएका छन् ।

आज कात्तिक शुक्ल सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पूजा समापन भएको मानिन्छ ।

छठ पर्व विशेष गरी नेपालको मध्य र पूर्वी तराईमा मनाईने गरिएको भएपनि पछिल्लो समयमा काठमाडौं, हेटौंडा, चितवन लगायतका केही पहाडी र भित्रि मधेशका जिल्लामा समेत उल्लासका साथ मनाउने गरिन्छ ।

छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइनुको साथै सन्तान सुख प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास रही आएको छ ।

कमेन्ट गर्नुहोस्
Share: