
रेम बिक/ पोखरा, ८ माघ | माघ १५ गतेदेखि पोखरामा राष्ट्रिय प्राङ्गारिक कृषि मेला प्रदर्शनी हुने भएको छ । चार दिनसम्म चल्ने प्रदर्शनीको बारेमा आयोजक क्षेत्रीय कृषि निर्देशनालयले जानकारी दिएको हो । मेलाको तयारी करिब पूरा भएको निर्देशनालयले जनाएको छ ।
पोखरामा हुन लागेको प्रदर्शनी आठौँ सँस्करणको हो । “मेलाको लागि हामीले प्राङ्गारिक कृषकहरुलाई स्टल राख्न आह्वान गरिसकेका छौँ ।” क्षेत्रीय कृषि निर्देशनालयका निर्देशक लेखनाथ आचार्यले भने– “यस क्षेत्रमा प्राङ्गारिक कृषि गर्न कृषकहरुलाई उत्प्रेरित गर्नका लागि मेलाले भूमिका खेल्नेमा म विश्वस्त छु ।” कृषि प्रदर्शनी मेलामा १ सय २० वटा प्राङ्गारिक कृषि उत्पादनहरुको स्टल रहने निर्देशनालयले जनाएको छ ।
देशका मुख्य शहरहरुमा वर्षेनी हुँदै आएको कृषि प्रदर्शनी मेला पोखरा हुन लागेको भने दोस्रोपटक हो । यसअघि पोखरामा २०६८ सालमा पनि प्राङ्गारिक कृषि प्रदर्शनी मेला भएको थियो । २०६४ सालदेखि शुरु भएको कृषि प्राङ्गारिक प्रदर्शनी मेला काठमाण्डौँ, ललितपुर, भरतपुर, बुटवल र कोहलपुरमा भैसकेको छ ।
निर्देशनालयसँगै कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रम पनि मेलाको मुख्य आयोजकको रुपमा रहेको छ । मेलाको सहआयोजकको रुपमा पोखरा उद्योग वाणिज्य संघ रहेको छ । मेलाको लागि सरकारी वजेट १३ लाख रुपैँया विनियोजन भएको निर्देशनालयले जनाएको छ । खर्च बढि लाग्ने भएकोले निर्देशनालयले अन्य स्रोतबाट पनि आर्थिक जुटाउने तयारी गरिरहेको निर्देशक आचार्यले बताएका छन् ।
कृषि प्रदर्शनी मेलामा प्राङ्गारिक कृषि उत्पादनहरुको प्रदर्शनीसँगै विभिन्न साँस्कृतिक कार्यक्रमहरु पनि हुने आयोजकले बताएका छन् । प्राङ्गारिक कृषि सम्बन्धि जानकारी दिनका लागि मेला स्थलमा विज्ञहरुको प्रस्तुती समेत राखिएको उसले जनाएको छ । त्यस्तै प्रदर्शनीमा रहेका प्राङ्गारिक कृषि उत्पादनहरुमध्ये उत्कृष्टहरुलाई पुरस्कृत समेत गरिने निर्देशनालय जनाएको छ ।

