खोई त पोखरामा नयाँ हाँस्यव्यङ्ग कलाकारहरु ?

Share:

रेम बिक /पोखरा | दिपक थापाले कमेडी नाच्न थालेको १० वर्षभन्दा बढि भयो । उनी अहिले यहाँका केहि दोहोरी साँझमा नियमित कमेडी डान्स गर्दै आएका छन् भने बाँकी समय विभिन्न मेला महोत्सवको स्टेज उक्लन्छन् । हाँस्य विधामा रहेर डान्स गर्ने कलाकारमा उनी पछिको अर्को पुस्ता भेटिन पोखरामा गाह«ो छ ।

Comedian of pokhara pic

त्यस्तै पोखरेली धुर्मुस र माग्ने बुढा नामले चर्चित राजेन्द्र नेपाली र युवराज भण्डारीको जोडी अहिले मेला महोत्सवमा सर्वाधिक व्यस्त छन् । काठमाण्डौका हाँस्य कलाकारहरु सरह ठाउँ ठाउँमा हुने मेला महोत्सवमा उनीहरुलाई बोलाईन्छ । पोखरामा हुने हरेक मेला महोत्सवमा उनीहरुको सहभागिता नभएको शायदै होला ।

हाँस्य विधाका कलाकारहरु यसरी चर्चित भैरहँदा पनि पोखरामा नयाँ पुस्ताका कलाकारहरु हाँस्य विधामा आउन सकेका छैनन् । नेपाली टेलिभिजन च्यानलहरुमा पछिल्लो समय सर्वाधिक हेरिने कार्यक्रममा पर्छन् ‘हाँस्य सिरियलहरु’ । मेला महोत्सवमा पनि हाँस्य कलाकारहरुको प्रस्तुतीलाई रमाई रमाई दर्शकले हेर्ने गर्छन् । त्यस्ता हाँस्य सिरियलमा काम गर्ने कलाकारहरु रातारात हिट पनि हुने गर्छन् । तर पनि कलाकारहरुको भीड रहेको पोखरामा हाँस्य विधाका कलाकारहरुको कमी छ ।

किन यस्तो भएको होला ? दिपक थापा भन्छन्–‘पोखरामा एउटा नराम्रो सँस्कार छ, कि कलाकारले स्टेजमा उक्लेर दर्शकलाई पुरै मनोरञ्जन दिएपनि आयोजकले खाममा हालेर थोरै मात्र रकम दिने चलन छ ।’ आयोजकले खाममा हालेर दिने पारिश्रमिकले कलाकारलाई चल्न गाह«ो हुने भएकोले यो क्षेत्रमा कुनै भविष्य नदेखेर पछिल्लो पुस्ता त्यति आकर्षित हुन नसकेको उनले बताए । काठमाण्डौबाट आउने हाँस्य कलाकारहरुलाई पुरै पारिश्रमिक दिने सँस्कार भएपनि पोखराका कलाकारहरुलाई स्थानिय भनेर हेप्ने परिपाटीले यस्तो अवस्था आएको उनले बताए ।

यता राजेन्द्र र युवराजको जोडीले पनि यो कुरालाई नजिकबाट नियालिरहेका छन् । उनीहरु भन्छन्–‘नयाँ पुस्तामा धैर्यता अभाव भएको कारणले पनि हाँस्य व्यङ्ग विधामा कम मान्छे भएको हो ।’ निरन्तरता दिन नसक्दा नयाँ आएका र पुराना केहि हाँस्यव्यङ्ग कलाकारहरु अहिले हराईसकेको उनीहरु बताउँछन् । दिपकले भनेजस्तै पोखरामा कम पारिश्रमिक पाउने कुरा भने उनीहरुले पनि स्विकार्छन् । ‘यहाँ दाजुभाई, नजिकको भन्दै फकाईफुल्याई गरेर कम पैसा दिने चलन भने व्याप्त छ ।’ उनीहरु भन्छन्–‘तर पोखरा बाहिर जाँदा हामीलाई पारिश्रमिकमा बार्गेनीङ गर्नुपर्दैन ।’

सात वर्षदेखि संगसंगै हाँस्य प्रस्तुती देखाउँदै आएको यो जोडिले अब चाँडै केन्द्रियस्तरको टेलिभिजनबाट नयाँ हाँस्य टेलिसिरियल  पनि प्रदर्शन गर्दैछ । ‘राष्ट्रियस्तरबाटै सिरियल प्रशारण गर्दा हामीलाई स्थानियको ट्याग नलाग्ला भन्ने हाम्रो अपेक्षा हो ।’ उनीहरुले भने–‘त्यसैले हामीले पोखरामै सिरियल निर्माण गरेर केन्द्रिय टेलिभिजन च्यानलबाट प्रशारण गर्ने भएका हौँ ।’

दिपक थापाको अनुभवमा पोखराबाट जस्तोसुकै प्रतिभावान व्यक्तिले आफ्नो प्रस्तुती दिएपनि यहाँका मेला महोत्सव आयोजकले ‘लोकल आर्टिस्ट’को ट्याग दिने गरेका छन् । यहाँका कलाकारहरुलाई हेर्ने नजर पनि आयोजकहरुमा तल्लो स्तरको छ । उनी भन्छन्–‘पारिश्रमिक दिने र कलाकारलाई हेर्ने सहि नजर मेला महोत्सवका आयोजक अनि मिडियामा हुने हो भने नयाँ पुस्ता अवश्य नै यो क्षेत्रमा आउन लालायित हुनेछ ।’

कमेन्ट गर्नुहोस्
Share: