
रञ्जन अधिकारी पोखरा, १० माघ / पोखरा ८ सिमलचौर स्थित जनप्रिय उच्च माध्यमिक विद्यालयले शनिबार विविध सांस्कृतिक कार्यक्रमका साथ आफ्नो ४७ औं वार्षिकोत्सव, पुरस्कार वितरण एवं अभिभावक दिवस समारोह सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि कास्कीका जिल्ला शिÔा अधिकारी अम्बिकाप्रसाद आचार्यले विद्यार्थी, शिÔक र अभिभावकले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिए ।
जनमानसमा राम्रो विद्यालय पठाएर तथा पढाएर मात्रै राम्रो शिक्षा प्राप्त गर्छ भन्ने ठान्नु गलत मान्यता रहेको बताउँदै सबैले जिम्मेवारी पूरा गरेमात्रै विद्यार्थीले राम्रो शिक्षा पाउने बताए । ‘सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि शिक्षक पनि सक्रिय हुनुपर्छ ।’ उनले भने– ‘शिक्षकले आफ्ना छोराछोरी सोहि विद्यालयमा पढाउन सक्नुपर्छ । यसो भएमात्र विद्यालयमा उचित शिक्षाको वातावरण बन्छ ।’ उनले वार्षिकोत्सव जस्तो कार्यक्रममा अभिभावकहरुले समय दिन नसक्नु चिन्ताको विषय भन्दै अभिभावक मैत्री कार्यक्रम गरेरै भएपनि समारोहमा उपस्थिति हुने वातावरण बनाउनुपर्ने आवश्यकता औंल्याए । उनले उच्च माविहरुलाई सरकारले राहत कोटाको व्यवस्था गरेको भन्दै छिट्टै घोषणा हुने विश्वास दिलाए ।
विशेष अतिथि उच्च मावि शिक्षा परिषद्, पश्चिमाञ्चल सम्पर्क कार्यालय पोखराका प्रमुख रमेशप्रसाद अधिकारीले मुलुकभर नै कक्षा ११ र १२ को परीक्षामा सन्तोषजनक नतिजा आउन नसकेको स्वीकार गर्दै गुणस्तरीयता वृद्धिका लागि धेरै काम गर्न बाँकी रहेको बताए । उनले जनप्रिय उच्च माविमा विज्ञान संकाय संचालन गर्नका लागि यहाँका समुदाय तथा विद्यालय व्यवस्थापनले माग गरेको खण्डमा केन्द्रमा स्वीकृतिका लागि पहल गर्ने समेत जनाए ।
विद्यालयमा लामो समयसम्म योगदान दिएको भन्दै विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष समेत रहेका शिक्षाप्रेमी देवराज चालिसेलाई सम्मान समेत गरिएको थियो । सम्मानित व्यक्तित्व चालिसेले अभिभावकले आफ्ना छोराछोरीलाई सार्वजनिक विद्यालयमा पढाएमात्र गुणस्तर वृद्धि हुने भन्दै शिक्षाप्रणालीमा आरक्षणका नाममा कमजोर विद्यार्थी छनौट हुँदा उत्कृष्ट विद्यार्थी हतोत्साही हुने अवस्था आएको बताए ।
विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रधानाध्यापक नारायण पराजुलीले आगामी वर्षदेखि कक्षा ९ समेत अंग्रेजी माध्यममा पठनपाठनको व्यवस्था गरिने जानकारी दिए । उनले शिक्षकहरु गुणस्तरीय शिक्षामा प्रतिबद्ध रहेको दाबी गर्दै अभिभावकको राम्रो साथको अपेक्षा गरे ।
नेपाल शिक्षक युनियन कास्कीका अध्यक्ष जगन्नाथ अधिकारीले एकीकृत शिक्षा ऐन ल्याएर शिक्षा क्षेत्रका विद्यमान समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै अब प्रविधिको विकाससँगै शिक्षकहरु भन्दा विद्यार्थीको सिकाई बढ्दै गएकाले शिक्षकहरु अपडेट हुँदै जानुपर्ने बताए ।
कार्यक्रममा जनप्रिय बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष दामोदर चालिसे, विद्यालयकी निरीक्षक बिमला रेग्मी, विद्यालय व्यवस्थापन समिति पूर्व अध्यक्ष प्रेमनारायण बराल, समाजसेवी परशुराम बराल, शिक्षकका तर्फबाट सावित्री चालिसे, अभिभावकका तर्फबाट अनिता चौधरी, एमाओवादी तर्फबाट ध्रुबराज पौडेल, सृजना विकास केन्द्रका अध्यक्ष राजु पौडेल, विद्यार्थीका तर्फबाट कल्पना गुरुङले बोलेका थिए । २०५२ सालमा एसएलसी उत्तीर्ण भएर १७ वर्षपछि कक्षा ११ भर्ना भएकी कल्पनाले आफ्ना छोराछोरी कक्षा ११ मा पढिरहेको र यति लामो समयपछि पढेर पनि कक्षा ११ प्रथम श्रेणीमा उत्तीर्ण गर्न सफल भएको जानकारी दिँदै विद्यार्थीहरुले पढाईलाई प्राथमिकता दिनुपर्ने बताईन् ।
सो अवसरमा विद्यालयमा स्थापित विभिन्न अक्षयकोषबाट उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिनुका साथै विद्यालयमा शैक्षिक तथा अतिरिक्त क्रियाकलाप, खेलकूद प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । शिक्षक ऋषि अधिकारी सम्पादित विद्यालयको जर्नल समेत विमोचन गरिएको थियो । यस्तै, विद्यार्थीहरुले गीत, नृत्य कविता समेत प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक ऋषिराम अधिकारीले गरेका थिए भने सहायक प्रधानाध्यापक बाबुराम पौडेल स्वागत र उच्च मावि संयोजक ईन्द्रबहादुर थापाले धन्यवाद ज्ञापन गरेका थिए ।
