
तनहुँ । शुक्लागण्डकी जेसीजको वर्ष २०२१ को चुनावमा कृष्णबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । बुधबार राति सम्पन्न मतदानमा शिव विकलाई एक मतान्तरले पछि पार्दै श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् ।
श्रेष्ठले २७ मत ल्याउँदा विकले २६ मत प्राप्त गरेका थिए । कुल ५४ मतदाता रहेकोमा ५३ मत खसेको थियो । कार्यकारीणी उपाध्यक्षमा रमेश भण्डारी ४६ मत प्राप्त गरी विजयी भएका छन् । अर्का उपाध्यक्ष सन्तोष श्रेष्ठ ३२ मत ल्याएर निर्वाचित भएका छन् । उपाध्यक्ष दिपेन्द्र रिमाल, सुरज लम्साल, पुकार श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । बाँकी सदस्य पछि मनोनित गरिने जनाइएको छ ।
तनहुँमा काँग्रेसभित्र पनि रामचन्द्र समूह, जोशी समूह, प्रदीप समूह भनेर ट्याग लाग्ने गरेको छ । जेसीज जस्तो विशुद्ध गैह्रराजनीतिक संस्थामा पनि राजनीति भित्रिएको गुनासो व्यक्त भएको छ । काँग्रेस समर्थित युवाहरु नै आपसमा नमिलेर मतदानमा जानुपरेको भनेर केही युवाहरुले गुनासो गरेका छन् । तर, जेसीज कुनै पनि राजनीतिक दलसँग सम्बन्धित संस्था भने होइन ।
