
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक बस्दै छ ।
यस अघि मंसिर २८ गते बालुवाटारमा बसेको बैठकले आजका लागि अर्को मिति तय गरेको थियो । सो बैठकमा नेकपाका केन्द्रीय सदस्य एवं पूर्वसांसद कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पेश गरिएको थियो । लामाको मंसिर २४ गते निधन भएको थियो ।
आजको बैठकमा मंगलबार सरकारले ल्याएको संवैधानिक परिषदको अध्यादेशका विषयमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा कुनै परामर्शविनै अध्यादेश ल्याएको भन्दै असन्तुष्ट बनेका नेताहरुले आजको बैठक अध्यादेशकै विषयमा केन्द्रित हुने बताएका छन् ।
सत्तारुढसँगै विपक्षी दल र अरु क्षेत्रबाट पनि अध्यादेशको चौतर्फी विरोध भएको छ । नयाँ अध्यादेश अनुसार संवैधानिक परिषदको बैठक हिजो बेलुका बसेको थियो । बैठकले कुनै निर्णय भने गरेन ।
नयाँ अध्यादेश अनुसार अब अध्यक्षसहित परिषदका बहुमत सदस्यको उपस्थितीमै बैठक बस्न सक्नेछ भने निर्णय गर्न पनि सक्नेछ ।
