कोरोनाः बिहीबार गण्डकी प्रदेशमा थप ८२ जनामा संक्रमण, १४९ संक्रमणमुक्त, १ को मृत्यु

Share:

पोखरा । बिहीबार पोखराका ४६ सहित गण्डकी प्रदेशमा थप ८२ जनामा कोरोना (कोभिड–१९) पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले बिहीबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका बाग्लुङ जिल्ला बाहेक १० वटा जिल्लाका ८२ जनामा कोरोना संक्रमण देखिएको हो ।

कोरोना पुष्टि हुनेमा कास्कीका मात्रै ४६ जना रहेका छन् । उनीहरु सबै पोखरा महानगरपालिकाका हुन् ।

यस्तै, लमजुङका १० जना, तनहुँ र नवलपुरका ७/७ जना, स्याङ्जाका ४ जना, मुस्ताङका ३ जना, गोरखाका २ जना, म्याग्दी, पर्वत र मनाङका एक/एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार ६६५ पुगेको छ ।

संक्रमितमध्ये गण्डकीमा हालसम्म ११ हजार ९१४ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै प्रदेशभरबाट १४९ जना संक्रमणमुक्त भएको निर्देशनालयले जनाएको छ ।

यसैगरी, बिहीबार प्रदेशमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–३ का ६८ वर्षीय संक्रमित पुरुषको बिहीबार बिहान ४ः१५ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु हो ।

ती पुरुषमा मंसिर २९ गते कोरोना पुष्टि भएको थियो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८७ पुगेको छ ।

हाल प्रदेशमा १ हजार ५६४ सक्रिय संक्रमित रहेका छन् ।

निर्देशनालयका अनुसार प्रदेशभरका प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३८८ नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख १५ हजार ९९२ परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: