
पोखरा । बिहीबार (आज) पोखराका ३२ सहित गण्डकी प्रदेशमा ५९ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले बिहीबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ७ वटा जिल्लाका ५९ जनामा कोरोना पुष्टि भएको हो ।
कोरोना पुष्टि हुनेमा कास्कीका मात्रै ३२ जना रहेका छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् ।
यस्तै, नवलपुरका १४ जना, तनहुँका ७ जना, लमजुङका र स्याङ्जाका २/२ जना तथा बाग्लुङ र म्याग्दीका १/१ जनामा पनि कोरोना पुष्टि भएको छ ।
यससँगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या १४ हजार ५८८ पुगेको छ ।
त्यस्तै, बिहीबार कोरोना संक्रमणबाट पोखरामा थप एक महिलाको मृत्यु भएको छ ।
पोखरा–२ की ५८ वर्षीया संक्रमित महिलाको बिहीबार (आज) बिहान ७ः३५ बजे फिस्टेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ती महिलामा बुधबार मात्रै कोरोना पुष्टि भएको थियो ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९२ पुगेको छ ।
यसैगरी, गत २४ घण्टामा प्रदेशभरबाट ८२ जना संक्रमणमुक्त भएका छन् । यो सँगै गण्डकीमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १३ हजार ३८३ पुगेको छ ।
हाल प्रदेशभर १०१३ सक्रिय संक्रमित रहेका छन् ।
निर्देशनालयका अनुसार गत २४ घण्टामा ३०२ नमुना परिक्षण भएका छन् भने हालसम्म १ लाख २० हजार ७३६ परिक्षण भएको छ ।




