
काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि आज सुनुवाइ हुँदैछ ।
गएको बुधबारदेखि नै यी रिटमाथि सुनुवाई सुरु हुने भनिए पनि तोकिएको संवैधानिक इजलासमा न्यायाधीश हरिकृष्ण कार्कीको सहभागीतालाई लिएर आपत्ति जनाइएको थियो। पछि कार्कीले आफू इजलासमा नबस्ने घोषणा गरेपछि आजका लागि पेशी तोकिएको हो।
न्यायाधीश कार्की केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा कानूनी सल्लाहकार रहेको भन्दै संवैधानिक इजलासमा उनको सहभागितामाथि अधिवक्ताहरुले प्रश्न उठाएपछि न्यायाधीश कार्की संवैधानिक इजलासमा नबस्ने भएका हुन्।
रिटमाथि सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले आफूसहित न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी रहेको इजलास गठन गरेका थिए ।
आज प्रधानन्यायाधीश जबराले कार्कीको सट्टा अर्का न्यायाधीशलाई इजलासमा राख्नेछन् ।
उक्त इजलासले संवैधानिक इजालबसाट निरुपण गर्ने कि बृहत इजलास गठन गर्ने भन्ने विषय टुंगो लगाउने छ।
प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदक १३ मध्ये ११ जनाले बृहत् पूर्ण इजलासमा सुनुवाइको माग गर्दै यही पुस २२ गते पूरक निवेदन दिएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सिफारिसको आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।
