
रञ्जन अधिकारी पोखरा, १८ माघ / पोखरा फूलबारी स्थित मणिपाल शिक्षण अस्पतालमा शल्यक्रियाको क्रममा बिरामीको ज्यान गएपछि तनाव उत्पन्न भएको छ । पोखरा १६ बाटुलेचौरकी २२ वर्षीया सबिना जिसी तामाङको गत माघ १५ गते विहीबार कलेजेको शल्यक्रिया भएकोमा अस्पतालले सफल भएको जनाएपनि अपरेशनकै क्रममा ज्यान गएकाले तीन दिनसम्म बिरामी बेहोस भन्दै अस्पतालले झुट बोलेको मृतकका आफन्तको भनाई छ । अस्पताल प्रशासनले भने घटनाबारे केहि बोलेको छैन ।
मृतककी आमा यशोदा जिसी विगत १५ वर्षदेखि सोहि अस्पतालमा कार्यरत छिन् । शल्यक्रिया पछि १२ घण्टासम्म होस नखुलेपछि परिवारलाई जानकारी नै नगराई होस नखुलेको बिरामी पोष्ट अपरेटिभ वार्डमा सारेर गैरजिम्मेवार कार्य गरेको, आँखामा पट्टी बाँधेर मुखमा भ्याकुम दिएर जिवितै भएको नाटक गरेर दुई दिनसम्म आफूहरुलाई गुमराहमा राखेको मृतकका आफन्तले जानकारी गराए । डा. डोलेन्द्र रिजाल, ओम श्रेष्ठ लगायतका टोलीले सविनाको कलेजेको अपरेशन गरेको उनीहरुको भनाई छ ।
आईतबार दिनभर वार्ताको प्रयास भएपनि अस्पताल प्रशासन गम्भीर नबनेपछि सहमति हुन नसकेको मृतकका ठूलोबुबा हर्क जिसीले बताए । शनिबार नै अस्पताल प्रशासनसँग वार्ता गर्न दबाब दिएपनि संलग्न चिकित्सक सम्पर्कमा आउन नमानेको, अस्पताल प्रशासन पनि गम्भीर नभएकाले छिमेकी र गाउँले नै आएर अस्पतालमा गेट बन्द गरी दबाब सिर्जना गरेपछि मात्रै आईतबार दिउँसोदेखि वार्ता भएपनि जिम्मेवार व्यक्तिहरु सहभागी नभएको उनको आपत्ति छ । ‘अस्पतालको आफ्नै स्थायी कर्मचारीकै छोरीको त यस्तो लापरवाही हुन्छ भने अन्य सर्वसाधारणको के होला ?’ उनले भने– ‘कर्मचारीको परिवारका लागि झनै अस्पतालले बढि क्षतिपूर्ति दिनुपर्नेमा यत्तिकै पन्छन खोजेको छ । यस्तो लापरबाही भएको स्वयं अस्पताल प्रशासनले स्विकार्दा स्विकार्दै पन्छन खोज्नु साह्रै दुःखद कुरा हो ।’
मृतककी तीन वर्षीया छोरीको शिक्षा र निःशुल्क स्वास्थ्यको पूर्ण व्यवस्था, मृतकका परिवारलाई क्षतिपूर्ति, अस्पतालमा लागेको सम्पूर्ण खर्च अस्पतालले नै ब्यहोर्नुपर्ने, घटनाको सम्पूर्ण छानविनको माग परिवारले अघि सारेको छ । यही माग सम्बोधन नभएपछि शनिबारदेखि आन्दोलित पीडित परिवारले आन्दोलनलाई जारी राख्ने बताएको छ । वार्तामा अस्पतालका प्रशासन विभाग प्रमुख डा. वीरेन्द्र कुमार यादव सहितको टोली सहभागी थिए । वार्तामा डा. यादवले प्रमुख जिल्ला अधिकारीले घटना मिलाउन भनेको भन्दै मिलेर जानुपर्ने एकोहोरो अडान लिएका थिए । उनले अस्पतालबाट छानविन आयोग बन्ने नभए सिडिओ कार्यालयमा वार्ता गर्न जाऊँ भन्दै आग्रह गरेका थिए तर पीडित परिवार भने मानेन । पीडित परिवारले गल्ती स्विकार्न आग्रह गरिरहँदा उनी मौन थिए । चिकित्सकबाट पनि गल्ती हुने भएकाले यसबारे बुझ्न आग्रह गर्दै उनले पछि अस्पताल प्रशासन समूहसँग छुट्टै छलफल गरी पुनः वार्तामा बसेपनि मागबारे सम्बोधन भने गरेनन् ।
अस्पतालका डिन डा. बिएम नागपाल र अस्पताल प्रमुख लगायत उच्च अधिकारी भने अस्पतालमा उपस्थित थिएनन् । सबिनालाई कोखा दुख्ने समस्या देखिएपछि बगरमा गरिएको भिडियो एक्सरेको क्रममा कलेजोमा पानी र जुका जस्तो देखिएकाले तुरुन्त अपरेशन गर्न भनेकोमा माघ १४ गते बुधबार सबिना आफ्नी आमा यशोदासँगै अस्पताल हिँडेरै पुगेको श्रीमान् अनिल तामाङले जानकारी दिए । ‘म त्यो दिन कामबाट फर्केपछि अस्पताल जाँदा भोलि बिहानै अप्रेशन हुन्छ, होस खुलिहाल्छ तपाईं आउनुपर्दैन भनेकी थिईन् ।’ उनले भने– ‘म छोरी लिएर फर्केँ, राम्रोसँग पनि कुरा हुन पाएन, यत्तिनै भयो हाम्रो गफ ।’
मृतककी आमा यशोदा जिसीले छोरीको शल्यक्रियामा डाक्टरको लापरबाही स्पष्ट देखिएकोले नै आफूहरुलाई थाहै नदिई १२ घण्टा बेहोस छोरीलाई बाहिर ल्याएको र घटना तीन दिनसम्म ढाकछोप गरेको दाबी गरिन् । ‘डाक्टरले मान्छे मार्छु त भन्दैन तर मेरो छोरी चाहिँ मारेकै हो । नत्र, हामीलाई रगत र औषधि लिन पठाएर परिवारलाई समेत जानकारी नगराई बिरामी बाहिर ल्याउँछ ?’ उनले प्रश्न गरिन् – ‘डाक्टरहरु पनि निकै गैरजिम्मेवार देखिए । त्यस्तो ठमठम हिँडेर आएकी छोरी यसै मर्छ ? त्यो पनि कलेजोको रोगले ?’
मृतककी दिदी सुनिता कुँवरले रेष्टुरेण्ट चलाएर आइरहेकी आफ्नी बहिनीमा त्यस्तो ठूलो रोग नदेखिएको भन्दै डाक्टरको व्यवहारले समेत उनीहरुले नै लापरबाही गरेको स्पष्ट भएको बताईन् । ‘परिवारले अस्पतालमा धर्ना दिन थालेपछि अपरेशनका क्रममा सहभागी डाक्टरहरुले अश्लिल हाउभाउ देखाएर बाहिरिए ।’ उनले थपिन् – नेपाली डाक्टर, त्यहाँ माथि स्टाफकै छोरी । अझै यस्तो अश्लिल व्यवहार । उनीहरु संवेदनशील छन् भन्ने कसरी बुझ्ने ?
मृतकका ठूलोबुबा हर्क जिसीले तीन दिनसम्मको बीचमा बिरामीलाई औषधि दिने, भ्याकुम दिने, अक्सिजन दिने जस्ता हर्कत गरिरहेपनि बिरामीको तीन दिन अघि नै मृत्यु भईसकेको आफूहरुले थाहा पाएको दाबी गर्दै नर्सहरुलाई समेत सोध्दा जसो गर भन्छ त्यसै गर्ने त हो हामी भन्ने प्रतिक्रिया दिएको बताए । मणिपाल कर्मचारी यूनियन समन्वय समितिका अध्यक्ष विक्रम केसी भने मिडियासामु खुल्न चाहेनन् । ‘हाम्रै स्टाफका परिवार भएकाले हामीले क्षतिपूर्तिका लागि दबाब दिन्छौं ।’ उनले भने– ‘अस्पताल प्रशासन मानिरहेको छैन, तर हामी लागिपरेका छौं । अहिलेलाई यत्ति भन्छु अरु भन्न मिल्दैन ।’
मृतक सबिनाका घर र माईती परिवार र छिमेकी आईतबार बिहानैदेखि अस्पताल प्राङ्गणमा भेला भएर गेट बन्द गरी माग पूरा गर्न दबाब दिईरहेका छन् । आईतबार साँझ भएको दोस्रो चरणको वार्ता निश्कर्षमा पुग्न नसकेपछि धर्ना जारी राखिएको उनीहरुले बताएका छन् ।
यसैबीच, सोमबार पूर्वान्ह ११ बजे प्रशासनको रोहबरमा पुनः वार्ता सुरु गर्ने गरी आज पीडित परिवार घर फर्किएको मृतकका ठूलोबुबा हर्क जिसीले बिग एफएमलाई जानकारी दिएका छन् । उपचारको खर्च अस्पतालले व्यहोर्ने र मृतककी छोरीको शिक्षा र अविवाहित रहेसम्म उपचारको व्यवस्थामा अस्पताल करीब सहमतिमा पुगेपनि क्षतिपूर्तिको रकम र घटनाको सम्पूर्ण छानविन गर्नुपर्ने विषयमा भने आईतबार सहमति नभएकोले सोमबार पुनः वार्तामा बस्ने गरी आज छलफल टुंगाएको उनले बताए ।



