
पोखरा । मंगलबार पोखराका ३१ सहित गण्डकी प्रदेशमा थप ३६ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ४ वटा जिल्लाका ३६ जनामा कोरोना देखिएको हो ।
संक्रमित हुनेमा कास्कीका मात्रै ३१ जना रहेका छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् ।
यस्तै, बाग्लुङका ३ जना तथा स्याङ्जा र तनहुँका १/१ जनामा पनि कोरोना पुष्टि भएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ४३७ पुगेको छ ।
यसैगरी, गत २४ घण्टामा प्रदेशभरबाट ४१ जना संक्रमणमुक्त भएका छन् । यससँगै गण्डकीमा कोरोना निको हुनेको संख्या १४ हजार ७९४ पुगेको छ ।
हाल प्रदेशभर ४४० सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेसनमा ४०४ रहेका छन् ।
हालसम्म गण्डकीमा २०३ जनाले भने कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।
गत २४ घण्टामा गण्डकी प्रदेशभरका प्रयोगशालामा १४७ नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख २६ हजार ११७ नमुना परिक्षण भएको छ ।
