
रेम बिक पोखरा, १९ माघ । पोखराका नेवार युवतीहरुमाझ सुन्दरी प्रतियोगिता हुने भएको छ । नेवा खलः कास्कीको आयोजनामा हुने पाँचौ सँस्करणको ‘मिस नेवाः पोखरा’ प्रतियोगिताको बारेमा आयोजकले सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
आयोजकका अनुसार फागुन १ गतेदेखि प्रतियोगितामा आउने नेवार समुदायका युवतीहरुलाई प्रशिक्षण दिन शुरु हुनेछ । प्रतियोगितामा २५ जनाले सहभागिता जनाउने आयोजकले अनुमान लगाएको छ । एक महिने प्रशिक्षण पश्चात पाँचौ सँस्करणको मिस नेवाः छनौटका लागि चैत ७ गते ग्राण्ड फिनाले हुने आयोजकले बताएको छ ।
‘पछिल्लो पुस्तालाई नेवार सँस्कृतिको बारेमा जानकार बनाउनका लागि यस्तो खालको प्रतियोगितालाई सबैभन्दा प्रभावकारी माध्यम भएको हाम्रो अनुभवले देखाएको छ ।’ पत्रकार सम्मेलनमा प्रतियोगिताको बारेमा जानकारी दिँदै नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले भने–‘त्यसैले हामीले वर्षेनी नेवार समुदायका युवतीहरुमाझ सुन्दरी प्रतियोगिता गर्दै आएका छौँ ।’ प्रतियोगिताको क्रममा युवतीहरुलाई नेवार समुदायको भाषा, सँस्कृति, ईतिहास र रहनसहनको बारेमा विशेष रुपमा सिकाईने आयोजकले बताएको छ ।
प्रतियोगिताका सँयोजक विक्रम उदासले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगिसकेको बताए । प्रतियोगिताका लागि अहिले नेवार समुदायका युवतीहरुले आवेदन फाराम बुझाईरहेको उनले पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रतियोगितामा टाईटल विजेताले उपाधीसहित नगद ४० हजार रुपैँया प्राप्त गर्नेछ । त्यस्तै फस्ट रनरअपले २५ हजार र सेकेन्ड रनरअपले १५ हजार रुपैँया प्राप्त गर्नेछन् । त्यस्तै ६ वटा विभिन्न विधामा प्रतियोगीहरुलाई पुरस्कृत गरिने आयोजकले बताएको छ । हरेक विधामा उत्कृष्ट हुनेले नगद पाँच हजार रुपैँया पुरस्कार प्राप्त गर्नेछन् ।
चारवटा सँस्करण पुरा भैसकेको मिस नेवाः पोखरामा अहिलेसम्म निकिता श्रेष्ठ, रश्मिता नकर्मी, समुना बज्राचार्य र रुची श्रेष्ठ टाईटल विजेता बनिसकेका छन् ।
