आजदेखि प्रि–मनसुन सुरु, दिनभर कहाँ कस्तो रहन्छ मौसम?

Share:

पोखरा । आजदेखि प्रि–मनसुन सिजन सुरु भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जाडोयामको सिजन सकिएलगत्तै प्रि–मनसुन सुरु भएको हो ।

सिजनका हिसाबले यसपालिको जाडोयाम सकिएको छ । डिसेम्बर, जनवरी र फेब्रुअरी तीन महिनालाई जाडोयाम मानिन्छ ।

मार्च १ तारिखदेखि तीन महिनासम्मको समयलाई प्रि–मनसुन मानिन्छ । मार्च, अप्रिल र मे महिना प्रि–मनसुनको सिजन हो । यसपछि मनसुन सुरु हुन्छ ।

प्रि–मनसुनको सिजनमा दिउँसो र बेलुकाको समयमा धेरै हावाहुरी चल्ने, मेघगर्जन/चट्याङ्ग तथा असिना–पानीको सम्भावना पनि रहन्छ।

यस्तो मौसममा मेघगर्जन/चट्याङ्ग/हावाहुरी/असिना–पानी बाट हुन सक्ने क्षतिबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यसैबिच आज सोमबारको मौसम भने देशका अधिकांश स्थानमा बदली हुने महाशाखाले जनाएको छ।

प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदली हुने छ । अन्य भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ।

प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

सोमबार राति पनि प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली र बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ ।

अहिले बिहान भने देशका पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: