
पोखरा । सामुदायिक सेवा केन्द्र एंव सामुदायिक प्रहरी सेवा पृथ्वीचोकले आयोजना गरेको त्रिदिवसीय उद्घोषण तालिम सम्पन्न भएको छ । पोखरा १५ लक्ष्मीटोल आमा समुहको भवनमा शुक्रबारदेखि शुरु भएको तालिम आइतबार सम्पन्न भएको हो ।
तालिममा सहभागिहरुलाई प्रमाण पत्र वितरण गर्दे कार्यक्रमका प्रमुख अतिथि वडानं १५का वडाध्यक्ष प्रकाश पौडेलले तालिममले सहभागिहरुमा आत्मबल बढाउन सहयोग पुगेको बताए । संसार प्रस्तुतिकरणमा अडेको भन्दै घर परिवार समाज सवै ठाउँमा बोल्ने कला महत्वपूर्ण हुने उनको भनाई थियो । सहभागिहरुलाई तालिममा सिकेका कुरालाई ब्यवहारमा उर्तान अध्यक्ष पौडेलले आग्रह गरे।
आयोजक संस्थाका सल्लाहकार एवं पूर्व अध्यक्ष चिरञ्जीवी श्रेष्ठले समुदायमा दिने यस्ता तालिमले सभ्य समाज निर्माणमा सहयोग पुग्ने बताए । समाजमा विकृति विसंगति न्युनिकरण गरि शान्ति सुरक्षा अमयन चयन गराउनको लागि २०५७ साल देखि प्रहरी र स्थानीय जनताको सहभागितामा आफुहरुले रचनात्मक काम गर्दे आएको बताए । तालिमका प्रशिक्षक पत्रकार घनश्याम पाण्डेले तालिम प्रभावकारी हुनुको मुख्य कारण सहभागिहरुकै सक्रिय सहभागिता रहेको जनाए ।
प्रशिक्षक एक माध्याम मात्रै रहेको भन्दै पाण्डेले सहभागिहरुको भित्र लुकेर रहेको प्रतिभालाई बाहिर ल्याउने काम तालिमले गरेको बताए ।
सामुदायिक सेवा केन्द्र एंव सामुदायिक प्रहरी सेवा पृथ्वीचोकका अध्यक्ष विपिन अधिकारीले आफुहरुको सेवा केन्द्र अन्तरगत वडानं ८,९ ,१० र १५ पर्ने भन्दै आगामि दिनमा पनि समुदायमा आवश्यक तालिम सञ्चालन गर्दे जाने बताए ।केन्द्रका वडा नं १५का संयोजक एवं तालिम संयोजक टकदेवी पुनले वडा नं १५ का लक्ष्मी टोल आमा समुह सहित तालिममा विभिन्न संघसस्थाका २८ जना महिला पुरुषको सहभागिता रहेको बताए।
तालिममा सहभागि मध्यका धनबहादुर पुन, कमला क्षेत्री, जसबहादुर गुरुङ, नरमाया पुनले तालिम आफुहरुले सोचे भन्दा पनि प्रभावकारी भएको भन्दै आफुहरु आगामि दिनमा सामाजिक कार्यमा सक्रिय भएर लाग्ने प्रतिबद्धता जनाए । तालिम लिएपछि आफुहरुमा आत्म विश्वास बढेको उनीहरुको भनाई थियो । तालिममा सहभागिहरुलाई सचिव कुमारी मुना बास्तोला, कोषाध्यक्ष हरि प्रसाद पाण्डेय लगायतले प्रमाणपत्र वितरण गरेका थिए। कार्यक्रमको सञ्चालन तालिममा सहभागि मिठु गोशलीले गरेकी थिइन् ।
