
नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कौलीमा दुई वटा ट्रक आपसमा जुध्दा दुवै चालकको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।
गएराति १२ बजे भएको उक्त दुर्घटनामा ना ६ ख ३०११ नम्बरको ट्रक चालक कास्की पोखरा महानगरपालिका वडा नं. १५ बस्ने ५१ वर्षीय खिमबहादुर विक र ना ७ ख ७०२३ नम्बरको ट्रक चालक हेटौँडा उपमहानगरपालिका बस्ने ३४ वर्षीय राजकुमार न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुवै चालकको जिल्ला अस्पताल डण्डामा आज बिहान करिब तीन बजेतिर मृत्यु भएको हो ।
दुर्घटनामा दुवै ट्रकका सहचालकहरु घाइते भएका छन् । घाइते हुनेमा तनहुँ बन्दीपुर गाउँपालिका–३ बस्ने १८ वर्षीय विश्वास शाही र दाङ बबई गाउँपालिका–६ बस्ने ३३ वर्षीय घनश्याम खड्का छन् ।
उनीहरु दुवैको अवस्था गम्भीर रहेको र उपचार गर्न चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
